हर्ष र उल्लासमय होली पर्व



विजय ज्ञवाली
वसन्त ऋतुको आगमनसँगै फाल्गुण शुक्ल पूर्णिमाको अवसर पारेर नेपाल, भारतलगायत विश्वका सम्पूर्ण हिन्दु समुदायमाझ बडो हर्षोल्लासपूर्णरुपमा मनाइने एउटा महत्वपूर्ण धार्मिक पर्व हो होली। रंगको पर्व भनेर पनि चिनिने यो पर्वमा मानिसले विभिन्न थरी रंगले एक–अर्कालाई रंग्याउँदै आपसी स्नेह, सद्भाव एवं भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउँछन्। नेपालमा विशेष गरी होलीलाई दूई दिन गरेर मनाइने गरिन्छ। पहाडी क्षेत्रमा यस पर्वलाई मनाएकै भोलिपल्ट तराई क्षेत्रमा पनि उसै गरी मनाइने गरिन्छ। मनोरञ्जनका रुपमा पनि लिइने यस पर्वलाई पछिल्लो समयमा आएर अझ विराट एवं परिष्कृतरुपमा मनाइँदै आएको छ भने कतिपय क्षेत्रमा अन्य धर्मावलम्बीहरुले यस पर्वलाई साथसाथै मनाउँदै आएको पाइन्छ।

होली खेल्नुभन्दा ठीक अघिल्लो दिन होलिकालाई दहन गर्ने प्रचलन रहिआएको छ। होलिकालाई दहन गरिसकेपछि अर्कोदिन बिहान पानीमा विभिन्न प्रकारका रंगहरु घोलेर एक–अर्कामाथि छ्याप्ने प्रचलन रहिआएको छ। हात–हातमा विभिन्न रंगमिश्रित रंगेली लिएर परम्परागत फागू गीत गाउँदै, नाच्दै बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धा सबैले होलीलाई अत्यन्तै उत्साहका साथ मनाउने गर्छन्। पुरानो तिक्तता बिर्सेर एक–आपसमा आपसी भाइचारा, सहयोग एवं सद्भाव स्थापित गर्दै यस पर्वलाई अझ हर्षोल्लासपूर्ण बनाइएको हुन्छ। फाल्गुण महिनामा मनाइने हुनाले यस पर्वलाई ‘फगुवा’ पनि भनिन्छ। यसै गरी फाल्गुण शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबारक्षेत्रमा चीर (विशेषरूपले सजाइएको लिंगो) गाडिन्छ। यसपछि होली शुरू भएको संकेत मिल्छ। फागू पूर्णिमाको राति उक्त चीरलाई ढालेर जलाएपछि फागू महोत्सव विधिवत्रुपमा अन्त्य हुने परम्परागत प्रचलन रहिआएको छ।

पौराणिक भनाइअनुसार सत्ययुगमा नास्तिक हिरण्यकशिपु नामक एकजना राक्षसको जन्म भएको थियो। हिरण्यकशिपुलाई भगवान् विष्णुले नृसिंहको रुप धारण गरी मारेका थिए। हिरण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए। उनी भगवान् विष्णुका भक्त थिए। आफ्नै छोरा प्रह्लाद भगवान् विष्णुको भक्त बनेको हिरण्यकशिपुलाई मन परेको थिएन। त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो। एक योजनाअनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो। दाजुको आदेशानुसार गर्दा होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन। होलिका दहनकै खुशीयाली मनाउन आपसमा रंग छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ।

अर्को प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंसकी बहिनी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनुभएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रंग र अबिर छरी खुशीयाली मनाएको सम्झनास्वरुप अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा रहिआएको बताइन्छ।

रंगहरुको पर्व होलीमा विभिन्न प्रकारका रंगमिश्रित रंगहरुलाई प्रयोगमा ल्याइने गरिएको छ। यी रंगहरु केवल मनोरञ्जन र आकर्षकताको लागि मात्र नभई रंगहरुको धार्मिक एवं आध्यात्मिक महत्व पनि रहिआएको छ। होलीमा प्रयोग गरिने विभिन्न थरी रंगहरुमध्ये नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ।

लोकहितका लागि उनले विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए। पहेँलो रंग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रंग हो। गणेशजी हरेक रंग मन पराउँथे। रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाउने गर्थे भन्ने मान्यता रहिआएको छ। यसबाहेक होलीमा प्रयोग हुने अन्य रंगहरुको पनि आफ्नै धार्मिक एवं आध्यात्मिक महत्व रहिआएको छ।

काठमाडौंको वसन्तपुर क्षेत्रमा विधिपूर्वक चीर ठड्याइएसँगै फागू पर्व शुरु भएको मानिन्छ। हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागू अर्थात् होली पर्व शुरु हुने गर्दछ। भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई फाल्गुण शुक्ल अष्टमीको बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ। रंगीचंगी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्इन्छ। त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एक–आपसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न शुरु हुन्छ। सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ।
असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने र एकसातापछि फागू पूर्णिमाका दिन सो चीर ढलाएर टुँडिखेलमा पुर्याई दहन गर्ने परम्परा रहेको छ। चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्तिस्वस्ती र क्षमापूजा गरिने चलन छ। त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा होम र क्षमापूजा गराइने चलन रहँदै आएको छ।

त्यसै अवसरमा हनुमानढोका दरबार परिसर तथा हनुमानढोका दरबारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीविरंगी कपडाका टुक्राहरु झुन्ड्याइएको मयलको रुखको हाँगा गाडेर पूजा गरिने चलन पनि छ। साथै, मोहनकाली चोकमा काठबाट निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्न मुद्राका गोपीका मूर्तिहरु सजाई अबिर छर्केर पूजा गरिँदै आएको छ। काठमाडौँलगायतका पहाडी भेगमा फागू पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्