भक्तपुरमा यौन समागमको संकेत गर्दै मनाइन्छ होली



पुष्कर बुढाथोकी, भक्तपुर
देश र भक्तपुर जिल्लाकै अधिकांश भागमा विभिन्न रंग र अबिर दलेर होली मनाइन्छ। कतिपय ठाउँमा त होली आउनुभन्दा अघि नै लोला हान्ने गरेको देख्न सकिन्छ।

तर भक्तपुर नगरमा भने अलग र मौलिक किसिमले होली मनाइन्छ। दत्तात्रय मन्दिरअघि रहेको भीमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग अर्थात लग र रातो कपडाले बनाइएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको संकेत गर्दै होली मनाउने प्रचलन छ।

भक्तपुरमा दत्तात्रयस्थित भीमसेन मन्दिरमा राखिएको काठबाट बनेको लग अर्थात लिंगलाई फागुन शुक्लपूर्णिमा अघि अष्टमीका दिन टोल–टोलमा घुमाएर सात दिनसम्म मनाइने होली पर्व शुरू हुने गर्दछ। लगलाई स्थानीयले टोलटोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखेपछि विधिवत रूपमा होली शुरु भएको मानिन्छ। यसलाई टोलटोलमा रहेको पसलैपिच्छे घुमाएर पूजा गरी पुनः पाटीमा ल्याएर झुण्ड्याएपछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने जाने र भेटी चढाएर पूजा गर्ने गर्दछन् ।

होली पर्व शुरू भएपछि फागुन नवमीको दिनमा भीमसेनको लिंगलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे लिंग दर्शनका लागि लगिन्छ। लिंगको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयबासी रामबहादुर गायजुले बताए। ‘भगवानको लिंगलाई छोएपछि व्यापार बढ्छ, त्यसैले आजको दिन पसल–पसलमा लिंग लगिएपछि दक्षिणा राखेर ढोग्छन्,’ –उनले भने।

बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भीमसेनको पाटीमा ७ दिनसम्म झmुण्ड्याउने गरिन्छ। झmुण्ड्याएको लिंग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ। यसलाई भीमसेन र द्रौपतीको यौन समागमको रूपमा लिइने गरेको संस्कृतिकर्मी बताउँछन्। करिब दुई हात लामो र करिब ३० इन्च मोटाइको काठबाट बनेको लिंगलाई भक्तपुरका बासिन्दाले भीमसेनको लिंग र कपडाबाट बनेको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिएको भक्तपुरका संस्कृतकर्मी ओम धौभडेल बताउछन्। धौभडेलले भने– ‘नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू भन्ने गरिन्छ। यसको आशय लिंग घुमाएपछि फागु पर्व शुरू हुन्छ भन्ने हो।

चिर स्वायगू अथार्त लिंग झmुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने परम्परा रहेको छ। विशेष गरी होलीभरि भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ। यहाँका गायजु गुठीले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गरेका छन्। ‘भीमसेन देया लज खङगलो वानला ल्यासे बिस्युवाने म्वायक सो झmायला’ अर्थात ‘भीमसेनको लिंगले मन लोभियो की, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो की’ जस्ता गीत गाउने गरेको गुठीयार बताउछन्।

फागुन शुक्ल पूर्णिमाका दिन भक्तपुरका वासिन्दाले दिनभर रंगको होली खेलेपछि साँझ भक्तपुर तलेजुबाट निकालिएको भगवान कृष्णको खटलाई नगर परिक्रमा गराउँदै दत्तात्रयअगाडिको भीमसेनको मन्दिरबाट ल्याएपछि मन्दिरमा झुण्ड्याएको लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा ल्याएर राखेपछि भक्तपुरमा मनाइने होली पर्व सम्पन्न हुने परम्परा रहेको छ।

छोरा नहुनेले उक्त लिंग बोकेर ब्रम्हायणीसम्म लगेमा छोरा हुन्छ भन्ने जनविश्वास यद्यपि रहेकाले यसरी मन्दिरबाट खोलासम्म लिंग बोकेर लैजाने व्यक्तिको प्रतिस्पर्धा हुने गरेको स्थानीय बताउँछन्। वास्तविकतामै पनि छोरा नहुने धेरैले लिंग बोकेपछि छोरा भएको बताएका छन्। लिंग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ।

भीमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकाले यो परम्परा पनि यही बेलादेखि शुरूआत भएको हुन सक्ने संस्कृतकर्मीको अनुमान रहेको छ। ‘सांकेतिक रूपमा यौनसंग सम्बन्धित फागु पर्व अर्थात होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भए पनि विशेषतः भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको छ,’ उनीहरूको भनाइ छ। पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको समेत भिड लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्