आयो इन्दुरे मिन्दुरे



गायक पुष्पन प्रधानको नयाँ गीति एल्बम इन्दुरे मिन्दुरे सार्वजनिक गरिएको छ। आइतबार कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विन्ध्यवासिनी म्युजिक कम्पनीद्वारा आयोजित समारोहका बीच एल्बम सार्वजनिक गरिएको हो।

विन्ध्यवासिनीले उत्पादन गरेको यो गीती अडियो सीडी एल्बममा आधा दर्जन गीत संगृहित छन्। सबै गीतमा पुष्कर पराजुलीको शब्द रचना र संगीत रहेको छ। पराजुलीले देशका बेरोजगार युवाको निराशालाई आशावादी बन्न उत्प्रेरित गर्न आफूले गीत तयार पारेको बताए। त्यसै गरी विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मीले एल्बमका यस गीतले हरेक नेपालीले सम्मानजनकरूपमा बाँच्न पाउनुपर्छ भन्ने सन्देश दिने बताए। ‘एल्बमभित्रका गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ तरंग ल्याउनेछ’ – रेग्मीले भने।

एल्बममा इन्दुरे मिन्दुरे डम्पिङ ग्राउन्ड, झमझम रसिया, चिमुसी चि र आठ बजे जान्छ बोलका गीत छन्। कार्यक्रमलाई नौलो रूप दिने क्रममा समारोहमा पुष्पनले ५ गीत गाएर सुनाएका थिए। ‘म गायकभन्दा पनि समाजको कथा भन्ने एक साधारण मानिस हुँु –त्यसक्रममा प्रधानले भने। कार्यक्रममा ठूल्दाजु बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। सफर पोखरेलले अभिनय गरेको म्युजिक भिडियो रोज्वे रेग्मीले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्