वाम शक्तिको उथलपुथल



आमनेपालीको चाहना वामएकता करिब–करिब संघारमा पुगेको छ। राणशासनको अन्त्यको लागि संघर्षरत नेपाली कांग्रेससँगै पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीले पनि देशमा परिवर्तन ल्याउन ठूलो भूमिका खेलेको देखिन्छ। हाल नेपाली राजनीतिमा वामपन्थी र प्रजातान्त्रिक पार्टीकै सेरोफेरोमा देश घुमिरहेको छ। खासगरी कम्युनिस्टको सिद्धान्त बोकेको वामपन्थी पार्टी नेपालमा वि.सं. २००६ मा गठन भएको हो।

परिवर्तनको लागि जुटेर परिस्थितिको सामना गर्नुपर्ने हो तर जुटको भन्दा फुटको खेतीमा अग्रणी रहेको पार्टीभन्दा फरक नपर्ने पार्टी हो नेपाल कम्युनिस्ट पार्टी। राजनीतिमा देखिने विचारहरुको धु्रवीकरणसँगै सिद्धान्त एक हुँदाहुँदै पनि अनेक संगठनमा विभाजित हुनु र कतिपय आफ्नो फरक दर्शनलाई लिएर अघि बढ्नु कम्युनिस्टहरुको विशेषताको रुपमा रहेको पाइन्छ। जसबाट पार्टी विभाजित हुनसमेत पुग्छ। हालै मात्र वामपन्थी एकताको कुरालाई अघि बढाउँदै चुनावी तालमेलसमेत गरेका नेकपा एमाले र माओवादी केन्द्रको पृष्ठभूमिलाई हेर्दा यिनीहरु स्थापनाको तेस्रो महाधिवेशनपछि दुई धारमा विभाजित भएका छन्। सरसर्ती हेर्दा वि.सं. २००६ मा गठित कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन २०१०, दोस्रो २०१४ र तेस्रो महाधिवेशन २०१९ सालमा भएको छ।

तेस्रो महाधिवेशसम्म एकै ढिक्का भएर अघि बढेको पार्टी यसपछि एकातर्फ एमालेको धार र अर्कोतर्फ माओवादको धारको रुपमा विभाजन भएको शृङ्खला हेर्दा अझ सजिलो हुन्छ। तेस्रो महाधिवेशनपछि पुष्पलाल समूह र चौथो महाधिवेशनको रुपमा विभाजित भएको पार्टी २०२७ मा झापा जिल्ला कमिटीको विद्रोह (सशस्त्र संघर्ष) २०३२ मा नाम परिवर्तन गरेर कोर्डिनेसन कमिटीको रुपमा विभाजित भएको पार्टी २०३० सालमा आएर नेकपा पुष्पलाल, मजदुर किसान सभा र नेपाल मजदुर किसान संगठन गरी तीन भागमा विभाजित भयो। २०३३ सालमा पुनः पुष्पलाल समूहमा विभाजन भएर पुष्पलाल समूह, मुक्ति मोर्चा र सर्वहारा क्रान्तिकारी संगठन नेपालको रुपमा विभाजित भयो। यसै गरी त्यसको २ वर्षपछि ३५ सालमा कोअर्डिनेसन कमिटी, मुक्ति मोर्चा, पूर्वको रातो झन्डा र पश्चिमको रातो झन्डा सन्देश समूहसँग एकता गर्दै नेकपा मालेको गठन भयो। यसै गरी २०४३ सालमा आएर मनमोहन नेतृत्वको नेकपा र सहानाको पुष्पलाल समूहसँग एकतापश्चात् सो पार्टी नेकपा माक्र्सवादी बन्न पुग्यो।

२०४७ सालमा माक्र्सवादी मालेबीच एकता भएर नेकपा एमालेको गठन भयो। उक्त २०३५ सालमा नेपाल मजदुर किसान संगठनको रुपमा विभाजित पार्टीभित्र पनि नेपाल मजदुर किसान समिति रोहित र नेपाज मजदुर किसान संगठनको रुपमा विभाजन भएको थियो। २०४७ सालमा आएर रोहित समूह नेमकिपा (नेपाल मजदुर किसान पार्टी) को रुपमा संगठित भयो। २०५४ मा एमालेमा पुनः विभाजन भई वामदेव समूहले नेकपा माले गठन गरेका थिए। २०५८ मा आएर नेकपा माले एमालेमा विलय भयो तर सिपी मैनालीको नेतृत्वमा अलग्गै नेकपा मालेको गठन भयो। यसै गरी वि.सं. २०६९ मा आएर सिपी मैनाली नेतृत्वको मालेमा पनि जगतबहादुर बोगटी विभाजित भएका थिए।

यो त एमाले निकटको धार थियो, अब माओवादीको धारलाई हेर्ने हो भने तेस्रो महाधिवेशनपछि नेकपा चौथो महाधिवेशनको रुपमा विभाजित धार २०३० सालमा नेकपा मसाल र नेकपा चौथो महाधिवेशनमा विभाजित भयो। २०४२ मा मोटो मसालको रुपमा विभाजित पार्टी २०४७ मा मोहनविक्रम सिंहबाट फेरि बाबुराम र हरिबोल गजुरेल विभाजित भएर विद्रोही मसाल गठन गरेका थिए। २०४७ मा नै बाबुरामको विद्रोही मसाल, नेकपा चौम, नेकपा मसाल र रुपलाल समूहको सर्वहारा श्रमिक संगठनबीच एकता गरी नेकपा एकता केन्द्र गठन गरिएको थियो। राजनीतिमार्फत सर्वहारा वर्गको मुक्तिको लागि अधिकार बन्दुकको नालबाट मात्र प्राप्त हुन्छ भन्दै माओवादको सिद्धान्तलाई आत्मसात् गर्दै एकता केन्द्रबाट विभाजित भई २०५१ मा नेकपा माओवादी पार्टीको गठन भयो।

सशस्त्र जनयुद्धको धार बोकेको माओवादीले १० वर्ष लामो जनयुद्ध (भूमिगत) पनि गर्यो। बीचमा २०५७ सालमा नेकपा मसालमा विभाजन आएर दिनानाथ शर्मा समूहद्वारा विद्रोही मसाल गठन गरेर पछि नेकपा माओवादीसँग एकता गरेका थिए। २०५९ सालमा एकता केन्द्र र पातलो मसालबीच एकता भई नेकपा एकता केन्द्र मसालको रुपमा गठन भयो। २०६० सालमा सो पार्टीमा पुनः विभाजित शृङ्खला शुरू भई नेकपा मसाल र एकता केन्द्र मसाल गठन भयो। २०६० सालमा नै गोपाल किरातीहरुको किरात वर्कस् पार्टीले नेकपा माओवादीसँग एकता गरेको थियो। २०६२ सालमा रवीन्द्र श्रेष्ठ र मणि थापाद्वारा नेकपा माओवादी नयाँ सांस्कृतिक समूह गठन गरेको थियो।

२०६३ सालमा केशव नेपालको नेतृत्वमा नेकपा २००६ गठन भएको कम्युनिस्टमा २०६३ मा डा. राममान श्रेष्ठले संयुक्त लोकतान्त्रिक मोर्चा गठन गरेका थिए भने २०६४ मा कृष्णदास श्रेष्ठले मालेमा केन्द्र तथा नेमकिपाबाट विद्रोह गरेर हर्कबहादुर शाहीले अलग्गै समूहको गठन गरेका थिए। २०६५ सालमा आएर नेकपा माओवादी र एकता केन्द्र मसालबीच एकतालाई एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी (एमाओवादी) गठन भएको थियो। एमाओवादीको गठन हुनेबित्तिकै असन्तुष्ट मात्रिका यादव पक्षद्वारा माओवादी छोडी छुट्टै नेकपा माओवादी गठन गरेका थिए। २०६५ मा विद्रोही मसालका हुकुमबहादुर सिंह, नेकपा संयुक्तका डा. लोकेन्द्र शर्मा, नेकपा एकीकृतका कृष्ण भुजेलबीच पनि एकता भएको थियो।

२०६६ मा नेकपा माले (क्रान्तिकारी)सँग एकता भएको पार्टी २०६७ सालमा नयाँ जनवादी मोर्चासँग एकीकृत भएको थियो। भएसँगै नेकपा एकीकृतबाट असन्तुष्ट बनेका नवराज सुवेदीहरुको समूह माओवादीसँग एकीकृत हुन आएको थियो। २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादी गठन भयो। त्यसको एक वर्ष नबित्दै २०६० सालमा मोहन वैद्यको पार्टी पनि नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेकपामा विभाजित भयो। विभिन्न आरोहअवरोहका बीच अघि बढ्दै आएको माओवादी पार्टीमा २०७२ सालमा असन्तुष्ट बाबुराम पक्षद्वारा नयाँ शक्ति नेपाल पार्टीको गठन गरी एमाओवादीबाट विभाजित भयो। २०७३ सालमा वैद्य, मणि थापा, मातृका यादवसहित १० साना माओवादी घटकबीच एकता भएको थियो।
– सुरज पोख्रेल, कास्की

प्रतिक्रिया दिनुहोस्