यस्ता हुनुपर्छ विद्यालय



मोतीराम तिमल्सिना, काभ्रे । सोमबार जिल्लामा दुई फरक फरक क्षेत्रका विद्यालयहरुमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ । विद्यालयमा आयोजना गरिएको प्रदर्शनीबाट शिक्षा ब्यवहारीक हुन थालेको देखिएको छ ।

धुलिखेल नगरपालिका वडा नम्वर ८ मा रहेको बालविनायक आधारभुत विद्यालय र पाँचखाल नगरपालिका वडा नम्वर ४ मा रहेको इन्द्रेणी विद्या मन्दिरले फरक फरक शैलीमा शैक्षिक प्रदर्शनीको आयोजना गरी अभिभावक र अवलोकनकर्ताहरुलाई दंग बनाएका छन् ।

दुवै विद्यालयले विगतका वर्षहरु देखि विद्यार्थीहरुले कक्षा कोठामा सिकेका ज्ञानलाई ब्यवहारमा उतार्न शैक्षिक प्रदर्शनीको आयोजना गरेको बताएका छन् । धुलिखेलको बालविनायकमा आयोजना गरिएको प्रदर्शनीको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गरेका थिए भने पाँचखालको इन्द्रेणी विद्या मन्दिरको नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले उद्घाटन गरेका थिए ।

‘शैक्षिक प्रदर्शनी सोच र प्रयोगको सङ्गम’ भन्ने नाराका साथ इन्द्रेणी विद्या मन्दिर पाँचखालमा चौथो इन्द्रेणी शैक्षिक प्रदर्शनी आयोजना गरिएको प्रिन्सिपल राममणी सापकोटाले बताए । शिक्षण सिकाइलाई समाज र जीवनसँग प्रत्यक्षरूपमा जोड्ने प्रयासस्वरुप तीन दिने शैक्षिक प्रदर्शनीको आयोजना गरिएको हो । विद्यालयको १६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम सोमबार देखि बुधबारसम्म आयोजना हुनेछ ।
विद्यार्थीहरुले आ–आफ्नो रूचि, क्षमता र तह अनुसारका सामाग्रीहरु तयार गरी प्रदर्शनी गरेका थिए । पर्दशनीको तयारीका लागि विद्यार्थीहरुले योजना कागजमा उतार्दै पूराना सामाग्रीको खोज र अध्ययन मार्फत निर्माणमा दत्तचित्त भएका थिए । आफूले सिकेका कुरा अरुसँग साट्ने र अरुबाट पनि सिक्ने मनसायले पर्दशनीमा जुटेको विद्यार्थी एलिसा पराजुलीले बताईन् ।

‘यसरी काम गर्दा आफूमा आत्मविश्वासको बृद्धि हुने र नयाँनयाँ सोचको विकास भएको छ’–पराजुलीले बताईन् । पाठ्यक्रममा आधारित सिकाई उद्देश्य हासिल हुने गरी स्टलहरू तयारी गरिएका थिए ।

कला, विज्ञानमा रूचि भएकाहरू आविस्कार र डिजाइन मार्फत प्रतिभा प्रस्तुत गरेका थिए । खेल्दै सिक्ने र सिक्न खेल्ने भनेर खेलसँग जीवन उपयोगी ज्ञान–सीप जोडिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विदुरप्रसाद सापकोटाले बताए । प्रदर्शनीमा हरेक कक्षाका बालबालिकाहरुले प्रस्तुति गरेका थिए ।

गरेर सिक्ने र सिक्दै गर्ने मान्यतामा स्थानीय प्रविधि र ज्ञानलाई समेत प्राथमिकतामा राखेर प्रदर्शनी आयोजना गरिएको सापकोटाले बताए ।
त्यस्तै विनायक बाल आधारभुत विद्यालयमा विद्यार्थीहरुले ५९ वटा स्टल राखी ब्यवहारत आफुले सिकेका ज्ञानलाई प्रस्तुत गरेका छन् । प्रधानाध्यापक नवराज तिमल्सिनाका अनुसार हरेक वर्ष विद्यार्थीहरुले यस्तो प्रदर्शनी गर्दै आएका छन् ।

बालबालिकाहरुले अध्ययन गर्न सम्झने विभिन्न तरिकाहरुका खेल, ब्याज निर्माण कागजबाट, वनस्पति कोष र जनावार कोष, जलचक्र, चट्याङ्गबाट बच्ने तरिका, मुत्र प्रणाली, विद्युत्त, अस्थायी चुम्वक, सौर्य मण्डल लगायतका विषयहरु प्रदर्शनीमा समेटिएको थियो ।

नगर प्रमुख ब्याञ्जुले विनायकबालको अनुभवले नगर भित्र रहेका अन्य विद्यालयहरुमा पनि त्यस्तै खालको प्रदर्शनी तथा ब्यवहारीक शिक्षामा जोड दिने बताए । नगर भित्रको शिक्षा प्रणाली सुधार्न विद्यार्थीहरुलाई समयमै ब्यवहारीक ज्ञानमा जोड्ने कुरामा विनायक बालले पु¥याएको योगदानको कदर गरेका थिए । सामुदायिक विद्यालयहरुले पनि यस्तो शिक्षा दिन सक्छन भन्ने उदाहरण उक्त विद्यालयले दिएको ब्याञ्जुले बताए ।

प्रतिक्रिया दिनुहोस्