कर्मचारी नआएपछि मन्त्रालय ठप्प



नेपाल समाचारपत्र, हेटौंडा ।
हेटौँडामा मन्त्रालय स्थापना भएको एक महिना पुग्नैलाग्दा पनि कर्मचारी नआएपछि मन्त्रालयका काम ठप्पजस्तै छ । आधा कर्मचारी पनि हाजिर नभएपछि कतिपय मन्त्रालयमा काम सुरु हुन सकेको छैन ।

प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेशसभा सचिवालय र ७ मन्त्रालयका लागि २ सय ३७ कर्मचारी खटाइए पनि हालसम्म ६८ कर्मचारीमात्र हाजिर हुन आएका छन् । अन्य कर्मचारी बेखबर छन् ।

मन्त्रालयहरुमा जस्तै प्रदेश नम्बर–३ को प्रदेशसभा सचिवालयमा पनि कर्मचारीको हाहाकार छ । प्रदेशसभा सचिवालयमा सोमबारसम्म केन्द्रबाट निश्चित समयका लागि खटाइएका शाखा अधिकृतसहित टोली रहनेछ । त्यसपछि भने सभा बस्न पनि कठिन हुने सचिवालयका प्रदेशसभा सचिव भरतकुमार बुढाथोकीले बताउनुभयो ।

‘कर्मचारी भए केही अप्ठ्यारा आउने थिएनन् । तर, कर्मचारी नै नभएपछि काम गर्न समस्या छ,’ उहाँले भन्नुभयो–कर्मचारीको व्यवस्थापन नभए सभा बस्न अप्ठ्यारो परिस्थिति हुन्छ । प्रदेशसभा सचिवसहित सचिवालयमा २८ कर्मचारीको दरबन्दी छ । हालसम्म ८ जनामात्र कर्मचारी हाजिर भएको सचिव बुढाथोकीले जानकारी दिनुभयो ।

कर्मचारी अभावका कारण जिल्लाबाट केही कर्मचारीलाई सहयोगका लागि बोलाएर कार्यमा लगाइएको उहाँले बताउनुभयो । संसदीय दलको कार्यालय खोल्न पनि समस्या भएको उहाँको भनाइ छ ।

मर्यादापालकको व्यवस्था छ । सचिवालयमा माइकअपरेटर भए पनि रेकर्डिङ अपरेटर छैनन् । सचिवालयमा ३ उपसचिवको दरबन्दी भए पनि एक जना पनि उपसचिव आएका छैनन् । ३ जना शाखा अधिकृतमध्ये एक जनाले काम चलाउनुपर्ने अवस्थामा छ । हाल भएका शाखा अधिकृत केन्द्रले निश्चित समयका लागि पठाएकाले उनीहरु मंगलबार आफ्नै कार्यालयमा फर्कने छन् ।

सचिवालयमा शाखा अधिकृत, रेकर्डिङ अपरेटर र उपसचिव नभए सभा बस्न समस्या हुने सचिव बुढाथोकी बताउनुहुन्छ । सचिवालयमा माइकको समस्या छ । साउण्ड सिस्टम भाडामा लिएर चलाइएको छ । पक्ष र प्रतिपक्षी दलका नेताले मात्र पोडियमबाट कुरा राख्न पाउँछन् । अन्य सांसद्लाई माइक छैन ।

प्रदेश प्रमुखको कार्यालयमा सचिवसहित १५ मध्ये १३ कर्मचारी हाजिर भइसकेको सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री र सचिवसहित २१ जनाको दरबन्दी रहेकोमा १३ कर्मचारी उपस्थित छन् । आर्थिक मामिला तथा योजना विकास मन्त्रालयमा मन्त्री र सचिवसहित १८ जनाको दरबन्दी रहेकोमा ८ जनामात्र कर्मचारी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्