विषादी प्रयोगमा नियन्त्रणको खाँचो



दैनिक उपभोग गर्ने तरकारीमा अत्यधिक मात्रामा विषादीको प्रयोग हुने गरेको पाइन्छ । यसका कारण उपभोक्ताले विभिन्न किसिमका प्राणघातक रोगको सिकार बन्नुपरेको छ । यसले गर्दा बिस्तारै रोगी बनाउँदै हृदयघातको सम्भावना बढाउँछ । साथै क्यान्सरजस्तो प्राणघातक रोग लागी ज्यान नै जान सक्छ । तरकारीमा अत्यधिक विषादीको प्रयोगले आर्थिकरूपमा मुलुकले समेत ठूलो भार व्यहोर्नुपरेको छ । किसानले थोरै लगानीमा धेरै आम्दानी गर्ने नाममा तरकारीजन्य उत्पादनमा अत्यधिक मात्रामा रसायन र विषादी प्रयोग गर्ने गरेका कारण यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको तथ्य सार्वजनिक हुने गरे पनि अत्यधिक विषादीको प्रयोग रोक्ने पहल कहीँ–कतैबाट भएको देखिँदैन ।

भएका प्रयास पनि देखावटीजस्तो मात्रै देखिन्छ । त्यसैले यो समस्या मुलुकका एउटा प्रमुख चुनौतीको रूपमा देखा परेको छ । नेपाली उत्पादन मात्र होइन, भारतबाट आयात हुने तरकारीमा समेत अत्यधिक विषादी प्रयोग हुने गरेको पाइन्छ । त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारी तबरबाट जुन किसिमले प्रयास हुनुपर्ने हो त्यो नभएको भन्दै उपभोक्तावादीहरूले चासो र चिन्ता व्यक्त गरेका छन् । यसरी चासो र चिन्ता व्यक्त गरेको लामो समय भए पनि त्यसको सम्बोधन हुन सकेको छैन ।

राजधानीलगायत देशका प्रमुख शहरमा विभिन्न क्षेत्रबाट आयात हुने तरकारीमा भएको विषादीको प्रयोगका बारेमा मापन गर्ने कर्मचारी र त्यसको अवस्थाका बारेमा जानकारी दिने निकाय नै मौन रहेको पाइन्छ । यसले राजधानीको प्रमुख तरकारी बजार कालीमाटीमा विषादी प्रयोगका बारेमा जाँच गर्ने कर्मचारीको संख्या ज्यादै न्यून भएको र अन्य तरकारी बजारमा त्यही व्यवस्थासमेत हुन नसकेको गुनासो आउने गरेको छ ।

सरकारले विषादीसम्बन्धी ठोस कदम चाल्न नसक्दा भान्सामा हरेक छाक विष भित्रिने गरेको छ भने त्यही विष नेपालीहरूले खाने गरेको पाइन्छ ।  सरकारले विदेशबाट नेपाल आयात हुने रसायन तथा विषादीमा नै रोक लगाउनुपर्ने देखिन्छ । विषादी नेपाल भित्रिन दिने तर किसानलाई चाहिँ यसको प्रयोग नगर भन्ने सरकारी रबैया कति अव्यावहारिक छ ? त्यसै स्पष्ट हुन्छ । यस किसिमको सरकारको निर्देशन मान्न जनता तयार देखिँदैनन् । विषादीको आयातमा रोक लगाएर हरेक नेपालीको भान्सामा भित्रिने विषलाई सदाका लागि अन्त्य गर्ने खालको कानुन बनाउनु र यसको कार्यान्वयन गर्नुको विकल्प पनि छैन । सरकार यसो भनेको जस्तो गरिरहने र किसान सरकारको कुरा नसुनेजस्तो गरेर विषादीको प्रयोग गरी उत्पादन बढाइरहने हो भने नेपालीको आयु बढ्ने होइन, घट्नेतर्फ नजाला भन्न सकिन्न । त्यसैले यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्