उत्तर कोरियामा हालसम्मकै कडा नाकाबन्दी लगाइने, पानीजहाज कम्पनीहरू निशानामा



सोल, (एजेन्सी)
उत्तर कोरियाले हालसम्म पनि आणविक कार्यक्रम नरोकेकाले अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने अमेरिकाले शनिबार चेतावनी दिएको छ। यस पछिल्लो प्रतिबन्धलाई उत्तर कोरियाको विवादास्पद आणविक हतियार कार्यक्रमलाई रोक्ने अर्को एक प्रयासका रूपमा लिइएको छ।

गत नोभेम्बरमा शक्तिशाली अन्तरमहादेसीय क्षेप्यास्त्र परीक्षण गरेयता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्योङयाङको पेट्रोलियम आयातलगायत थुप्रै क्षेत्रमा नाकाबन्दी लगाएको थियो।

सो नाकाबन्दीप्रति उत्तर कोरियाको समर्थक राष्ट्रका रूपमा चिनिने चीन र रसियाले समेत सहमति जनाएका थिए। त्यपछि उत्तर कोरियाले दक्षिण कोरियामा भएको हिउँदे ओलम्पिक्समा भाग लिने सहमति जनाएपछि आणविक कार्यक्रम विवाद सेलाउने अनुमान अधिकांश अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले गर्दै आएका थिए।

तर उत्तर र दक्षिणबीचको निकट र मेलमिलापपूर्ण सम्बन्धबाट असन्तुष्ट अमेरिकाले भने उत्तर कोरियामाथि ओलम्पिक्सलाई प्रोपोगान्डका लागि प्रयोग गरिरहेको आरोप लागएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई उत्तर कोरियाविरुद्धको हालसम्मकै सबैभन्दा कडा प्रतिबन्धको संज्ञा दिएको बीबीसीले जनाएको छ।

यसपटक ५० वटाभन्दा बढी पानीजहाज कम्पनीलाई नाकाबन्दीको निशाना बनाइएको छ। जसमध्ये १६ वटा कम्पनी उत्तर कोरियाका छन्। यसैगरी हङकङमा दर्ता भएका ५, चीन र ताइवानमा दर्ता भएका दुई⁄दुई तथा पनामा र सिंगापुरमा दर्ता भएका एक⁄एक कम्पनी विरुद्ध पनि नाकाबन्दी लक्षित हुने बताइएको छ।

उत्तर कोरियाले आणविक कार्यक्रम सञ्चालन र क्षेप्यास्त्र परीक्षण गर्दै आएको कारण अमेरिकासहित अन्य मुलुककले कयौं अन्तर्र्रािष्ट्रय प्रतिबन्ध लगाइसकेका छन्। तर त्यसलाई बेवास्ता गर्दै उत्तरकोरियाले अमेरिकासम्म मार हान्न सक्ने शक्तिशाली व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण जारी राखेको छ।

हालै कोरियाली प्रायद्विपमा देखिएको राजनीतिक सुधारको परिणामस्वरुप आगामी साता उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता हुने तय भइसकेको छ। उक्त द्विपक्षीय वार्तामा अधिकारीहरूले उत्तर कोरियामा हालै मात्र भएको शीतकालीन ओलम्पिक खेलकूदका बारेमा समीक्षा गर्नुका साथै २ देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीका बारेमा पनि कुराकानी हुने भएको बताइएको छ।

सो वार्ताका लागि दक्षिण कोरियाले उत्तरलाई पत्र पठाएको थियो। उत्तर कोरियाले सो पत्रमा शुक्रबार मात्र सहमति जनाएको पनि दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले जानकारी दिएको हो। उक्त वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा आगामी मङ्लबार अर्थात् फेब्रुअरी २८ को दिन बिहान १० बजेबाट शुरू हुने भएको बताइएको छ।

सो वार्ताका लागि २ कोरियाका तर्फबाट अधिकारीहरूलगायत अन्तर कोरियाली विभागका महानिर्देशकको सहभागिता रहने बताइएको छ। सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौतामा नभई केवल युद्धविराम घोषणामा टुंगिएकाले प्राविधिक रूपमा उत्तर र दक्षिण कोरियाबीचको युद्ध अझै जारी रहेको मानिन्छ।

ओलम्पिक्सको उद्घाटनमा भाग लिन दक्षिण कोरिया पुगेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दक्षिणका मुन जाय–इनले दिएको रात्रिभोजमा उत्तर कोरियाली उच्च प्रतिनिधि मन्डलका अध्यक्ष तथा प्योङयाङका राष्ट्रध्यक्षसँग खान अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्