जिम्मेवार बनाऊ सचिवालय



काठमाडौं महानगरपालिका (कामपा) ले विभिन्न मुलुकका शहर र महानगरसँग भगिनी सम्बन्ध राख्दै आएको वर्षौं भएको छ । कामपाले पहिलोपटक अमेरिकाको युजेन शहरसँग यस्तो सम्बन्ध गाँसेको थियो भने दोस्रो सम्बन्ध पनि अमेरिकाकै रोचेस्टर शहरसँग जोडिएको थियो । कामपाले हालसम्म विभिन्न १४ अन्तर्राष्ट्रिय शहर र महानगरसँग भगिनी सम्बन्ध गाँसेको छ । भगिनी सम्बन्ध स्थापना भएका शहर र नगरसँग सामाजिक, साँस्कृतिक र आर्थिक सहयोग आदान–प्रदान गर्ने गरिन्छ । तर, कामपाका अधिकारीहरू कुन मुलुकसँग कुन मितिमा सम्बन्ध गाँसियो भन्नेमा अनविज्ञ छन् ।

पहिलो सम्बन्ध स्थापना भएको अमेरिकाको युजेन शहरसँगको तिथि मितिसमेत कामपासँग छैन । यस्तो जानकारी महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयमा पनि छैन । ४ वटा शहरसँग सम्बन्ध गाँसिएको अभिलेख भए पनि अन्य १० शहर र संस्थासँगको अभिलेख फेला पर्न सकेको छैन । अढाइ वर्षअघिको महाभूकम्पले महानगरको भवन क्षतिग्रस्त बनाउँदा त्यस्तो अभिलेख हराएको र खोजेको बेलामा पाउन नसकिएको गैरजिम्मेवार जवाफ दिँदै कामपा अधिकारी पन्छिने गरेका छन् । सम्बन्ध स्थापना भएपछि दुई मुलुकका शहरलाई निकट बनाउने भनिए पनि कामपा यस्तो कार्यमा पनि निकै कमजोर रहेको छ ।
कामपाले अमेरिका, चीन, जापान, क्यानडा, बेलारुस, थाइल्यान्ड, उत्तर कोरिया, वर्मा, भारतका विभिन्न शहरसँग सम्बन्ध गाँसिसकेको छ ।

भोलि सोमबार स्पेनको मेड्रिड शहरसँग पनि औपचारिक सम्बन्ध गाँसिँदै छ । तर, विगतमा सम्बन्ध जोडिएका शहर र संस्थासँगको सम्पर्क नियमित हुन सकेको छैन । उत्तर कोरियाको प्योङयाङ र वर्माको यंगुनसँग वर्षौंअघिदेखि कुनै सहयोग आदान–प्रदान हुन नसकेको स्वयं महानगरपालिकाका अधिकारीहरू स्वीकार्छन् । कामपासँग धेरै मुलुकसँगको अभिलेख नभएपछि अब तीनै मुलुकबाट फेरि कागजपत्र झिकाउने तयारीमा जुटेको बताइएको छ । कुनै विकल्प नभएपछि त्यस्तो तयारी गरिएको महानगर स्रोतले जनाएको छ । कागजपत्र झिकाउनु सकारात्मक कुरा हो, तर त्यसलाई आधुनिक शैलीले अभिलेख गर्नेतर्फ पनि तयारी अगाडि बढाइनुपर्छ ।

सम्बन्ध गाँस्ने, गाँसिने शहर र मुलुकको सूची मात्रै थप्ने कीर्तिमान राख्नेतर्फ नेपालले ध्यान दिने होइन । साथै, सम्बन्ध गाँसिएका शहर र संस्थासँग किन र के कारणले दोहोरो सहयोग आदान–प्रदान हुन सकेन भनेर समीक्षा गर्न ढिलो गर्नुहुँदैन । महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय स्थापनाको काम कारबाहीलाई चुस्त दुरुस्त बनाउनतर्फ ध्यान नदिँदा विगतका अभिलेख सुरक्षित नभएको पुष्टि भएको छ । त्यसैले सचिवालय स्थापनाको मूल मर्मअनुसारको गतिविधि अघि बढाइनुपर्छ, कार्यशैली बदलिनुपर्छ । अन्यथा मुलुककै पहिलो महानगरको कार्यशैलीमाथि सधैं प्रश्नचिह्न खडा गर्ने अवस्था दोहोरिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्