कमजोर छैन मानव मस्तिष्क



सामान्यतया मानिसको मस्तिष्कमा कुनै डिजिज छैन भने सबै मानिसको मस्तिष्क उत्तिकै तृष्ण र क्षमतावान हुने गर्दछ। मानिसले आफूसँग भएको मस्तिष्कलाई कुन उद्देश्यका साथ कसरी प्रयोग गर्ने र कुन हदसम्म प्रयोग गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत भएको हुँदा हरेक मानिसको पहिचान फरक–फरक किसिमले हुने गर्दछ।

त्यसैले हाम्रो लक्ष्य, हाम्रो सफलता र हाम्रो पहिचानका लागि हामीले हाम्रो मस्तिष्कलाई सकारात्मक तरिकाले भरपुर प्रयोग गर्नुपर्दछ। विश्वमा भएको अनुसन्धानलाई हेर्दा साधारण मानिसले आफूसँग भएको मस्तिष्कको १ प्रतिशत मात्र प्रयोग गरेको देखिन्छ। बाँकी ९९ प्रतिशत मस्तिष्क त्यसै खेर गइरहेको तथ्य फेला परेको छ।

यद्यपि अल्बर्ट आइन्स्टानले आफ्नो मस्तिष्कको तीन प्रतिशतसम्म प्रयोग गरेका थिए। यो एउटा अपवादबाहेक आजसम्म कसैले योभन्दा धेरै आफ्नो मस्तिष्क प्रयोगमा ल्याउन सकेको छैन। मानिसलाई परिवार, समाज र देशको वातावरणले पनि मस्तिष्क क्षमतावान बनाउन वा कमजोर बनाउन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भूमिका खेलिरहेको हुन्छ।

मस्तिष्क र मनको सम्बन्ध परिपूरक जस्तो देखिन्छ। मस्तिष्कले तर्क र गणितको कुरा गर्छ भने मनले भावना र कल्पनाको कुरा गर्छ। कहिलेकाहीं भावनाको अगाडि तर्क विलीन भइदिन्छ, फलस्वरूप तथ्य लोप हुन पुग्दछ। मस्तिष्क बढी स्वार्थी र मन बढी मानवीय हुने हुँदा मानिसले आफ्नो जीवनको लक्ष्य के हो त्यसको पहिचान गरी कुनलाई कसरी प्रयोग गर्ने भन्ने कुरातर्फ सजग हुनुपर्दछ।

विश्वमा दुई किसिमका दर्शनहरूको प्रयोग भएको पाउन सकिन्छ। पूर्वीय दर्शन र पश्चिमा दर्शन। पूर्वीय दर्शनको आविष्कार र प्रयोग हजारौं वर्ष पहिले भएको पाउन सकिन्छ। यसले अनुसन्धान, विज्ञान, आध्यात्मक, मानवता, शान्ति र सन्तुष्टिको व्याख्या गर्दछ भने पश्चिमा दर्शनले भौतिक उन्नति, सुख–सुविधा, यान्त्रिकीकरण, आर्थिक उन्नति तथा विकास जस्ता कुराको व्याख्या गर्दछ। यी दुई दर्शनको संयोजनद्वारा वर्तमान विश्व ब्रह्माण्ड चलिरहेको छ। यीनै दर्शनद्वारा नयाँ कुराको खोज, प्रयोग, सुख र सन्तुष्टि सम्भव भएको हो।

शिक्षा क्षेत्रमा गरिने खास लगानीमा विद्यार्थी संख्या र गुणस्तरबीचमा व्युत्क्रमानुपातिक सम्बन्ध छ। विद्यालय बढी नाफामुखी भएकाले त्यहाँबाट क्षमतावान, सिर्जनशील र योग्य विद्यार्थी पाउन मुस्किल भएको छ। सेवा जस्तो क्षेत्रमा व्यापार मिसिएपछि त्यसको हालत के होला हामी सबैले विचार गर्न सक्छौं। सरकारले शिक्षालाई निजीकरणबाट मुक्त गरी राष्ट्रियकरण गर्दै सरकारी स्कुलहरूलाई थप गुणस्तयुक्त बनाउन सक्नु पर्दछ र त्यहाँबाट उत्पादन भएका दक्ष विद्यार्थीलाई नेपालको विकास निर्माणमा लगाउनु पर्दछ।

यसका लागि सरकारले विद्यालयहरूमा व्यवहारिक, सीपमूलक एवं समस्या केन्द्रित शिक्षण पद्धतिको विकास गर्दै कार्यान्वयनमा लैजाने र सरकारी शिक्षकको सेवा सुविधाहरूमा वृद्धि गर्दै उनिहरूलाई कडा अनुशासनमा राख्ने नीति निर्माण गर्न जरुरी छ। सुगमदेखि दुर्गमसम्म, धनीदेखि गरिबसम्म सबै नेपालीले आफूले चाहेको शिक्षा आफ्नै अनुकूलताको समय र स्थानमा लिन सक्ने बनाउनुपर्दछ।

एउटा विद्यार्थीको सिकाइ उपलब्धिमा शिक्षाको गुणस्तर, पाठ्यवस्तु र पाठ्यक्रमको प्रासंगिता, स्थानीय समस्यामा केन्द्रित, शिकाइको सघनता, उत्प्रेरक शिक्षण पद्धति, निरन्तर उत्प्रेरणा र परामर्श जस्ता तत्त्वले प्रभाव पार्दछ। अबको युगमा एउटा लेक्चर हेर्न कक्षा कोठामा जानुपर्ने वाध्यता युवा पुस्ताको अन्तरआत्माको माग नभएर एउटा बाध्यता हो। त्यसैले युवाप्रति सहानुभूति देखाउँदैमा के हुन्छ ? बरु युवाको समग्र भावना बुझी शिक्षा क्षेत्रमा सूचना प्रविधिले ल्याएको सम्भावनालाई अवसरमा बदले केही हुन सक्छ।

घोकेर जाँचमा ओकल्नुलाई विद्या आर्जन मान्ने आजभोलिको शिक्षा प्रणालीले नै हाम्रा युवालाई असफल बनाइरहेको कुरा के सर्वविदितै छैन र ? हाम्रा विद्यालयहरू अनुसन्धानको अगुवा हुनुको सट्टा अनुसन्धानबाट भाग्ने भगुवा भएका छन्। तसर्थ विद्यालयले समस्या केन्द्रित र जीवन उपयोगी शिक्षण पद्धतिको विकास गर्दै जाने र विद्यार्थीले पनि १८⁄२० वर्ष लगातार पढेर बेरोजगार हुनुको सट्टा काम, अनुभव र शिक्षालाई साथसाथै अगाडि बढाउन सकेमा त्यो धेरै उपयोगी र व्यवहारिक हुन्छ।

अन्यथा पैसा, समय र जीवननै बर्बादीको बाटोमा जान्छ। शिक्षालाई ग्रहण गरी सकेपछि त्यसको व्यावहारिक उपयोगिता के छ भनेर चिन्तन गर्ने शैली हामी विद्यार्थीमा पनि विस्तारै ह्रास हुँदै गएको छ। बुझेर अध्ययन गर्नेभन्दा पनि परीक्षामा कसरी पास गर्ने भन्ने पीरले हामी धेरै पिरोल्लिएको जस्तो लाग्छ। शिक्षा केवल जागिर खानका लागि मात्र नभएर हाम्रो चिन्तन प्रणालीको विकास गर्नका लागि पनि हो।

एउटा शिक्षित व्यक्ति सभ्य, अनुशासित, नैतिकवान, सहनशील र मिजासिलो हुन्छ। उसले कुनै पनि कुरा गर्दा ओजपूर्ण तरिकाले गर्ने गर्दछ र समस्या पनि त्यसरी नै हल गर्दछ। जीवनको आधाजसो समय शिक्षा हासिल गर्न खर्चेर विदेश पलायन हुनुको के मज्जा ?

आफूले आजसम्म हासिल गरेको शिक्षालाई कसरी, कहाँ उत्कृष्ट तरिकाले प्रयोग गर्न सकिन्छ त्यतातिर चिन्तन गर्दै सोहीअनुरूप कार्य गर्न सकेमा जीवन सन्तुष्ट हुन्छ। हजारौं वर्ष पहिले दार्शनिकहरूले ज्ञानमै मुक्ति छ भनी जुन दृष्टि दिएका थिए। त्यो मुक्ति हामी सबैले सबैका लागि सम्भव बनाऔं।

– विजय भुसाल, बनेपा, काभ्रेपलाञ्चोक

भागवण्डा पुर्याउने कसरत नहोस्

नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको समाचार सुनियो। प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय मात्रै राख्ने सहमति हुनु मुलुकका लागि खुसीको कुरा हो। तर, मन्त्री पदमा दुई दर्जनभन्दा बढीले आकांक्षा देखाएपछि प्रधानमन्त्री ओली तनावमा पर्नुभएको खबर पनि अखबारमा आएको छ। कतै सबैलाई भाग पुर्याउन विगतकै जस्तो मन्त्रालय थप्ने वा फुटाउने कार्य त दोहोरिँदैन ? विगतमा कसैलाई भागवण्डा पुगेन भने मन्त्रालय थपेर वा भएको मन्त्रालय फुटाएर भाग पुर्याउने गरिएको इतिहास साक्षी छ। कदापि यस्तो कार्य नगरियोस्।
– मणिराम ‘हली’, पाटन, ललितपुर

प्रतिक्रिया दिनुहोस्