हलेसीको अग्निपीडितलाई किराँतिम्मा गायन समूहको सहयोग



खोटाङ, (नेस)। गायिकाहरुको चर्चित समूह राई किराँतिम्मा गायन समूहले खोटाङ हलेसीका आगलागी पीडितलाई ९ लाख ३० रुपियाँ राहत प्रदान गरेको छ। गत पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका लागि समूहले सांगीतिक कार्यक्रम गरी संकलन गरेको उक्त रकम पीडितलाई बिहीबार प्रदान गरिएको हो।

किराँत राई समुदायका ११ जना गायिकाको समूहले पीडित व्यवसायी मगम राई, उचितबहादुर राई, अम्बराज राई, तम्बराज राईलाई जनही १ लाख ७५ हजार ५ रुपियाँ र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलाई १ लाख ५ रुपियाँ राहत प्रदान गरेको हो। संकलित रकमध्ये हलेसी तुवाचुङ नगरपालिका–९ धितुङका आगलागी पीडित मित्रमान राईलाई पनि १ लाख ५ रुपियाँ प्रदान गरिएको महादेवस्थानका वडा अध्यक्ष चइन्द्र राईले बताए। समूहमा गायिका पार्वती राई, सत्यकला राई, सरला राई, कला राई, बेनुका राई, राधा राई, मेनुका राई, ममता राई, नीलम रोजु राई, जानुका राई र तायाहाङमा राई रहेका छन्।

प्रतिक्रिया दिनुहोस्