संघीय संसद्को खाका तयार



गंगा बराल, काठमाडौं

संसद् सचिवालयले संघीय संसद्को संरचनासम्बन्धी खाका तयार पारेको छ। संघीय संसद्मा कस्तो संरचना चाहिने र त्यसमा कति कर्मचारीलाई कसरी खटाउने भनेर सचिवालयले अध्ययन गरेको थियो।

संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले समितिले गरेको अध्ययन र त्यसबाट प्राप्त निष्कर्षलाई आधार मानेर प्रक्रिया अघि बढाइएको बताउनुभयो। संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय संसद् भनेको छ। दुवै सदनमा गरी ३ सय ३४ सांसद रहने व्यवस्था छ। सचिवालयले नै संसद् बैठक चलाउनेदेखि, विधेयक प्रस्तुत गर्नेलगायतका अन्य जिम्मेवारी निर्वाह गर्नेछ।

संघीय संसद्मा ४ सय ३५ कर्मचारी रहने कर्मचारी प्रशासन शाखाका अधिकृत नेत्रप्रसाद भुसालले जनाउनुभयो। यीमध्ये २ सय ७७ कर्मचारी मात्र कार्यरत छन्। लोकसेवा आयोगले नै कर्मचारी पदपूर्ति गर्ने गरेको छ। केही करारमा कर्मचारी पनि राखिएको सचिवालयले जनाएको छ। संसद्मा यसअघि ३ सय ३४ कर्मचारी दरबन्दी थियो। सचिवालयले सिंहदरबारभित्र रहेका भवनमा पनि संघीय सचिवालय लेखिसकेको छ भने लेटरप्याड पनि प्रयोगमा ल्याइसकेको छ।

संघीय संसद्को पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बस्दै छ। संघीय संसद्मा एक महासचिव, प्रतिनिधिसभा र राष्ट्रियसभाका एक⁄एक जना सचिव, प्रशासनिक सचिवालय सचिव, संसदीय अध्ययन तथा अनुसन्धानका सचिवालय सचिव रहनुहुनेछ। दुवै सदनमा कार्य व्यवस्था महाशाखा, विधि व्यवस्थापन महाशाखा रहने छ। प्रतिनिधिसभा र राष्ट्रियसभामा नै कार्य व्यवस्था शाखा, उपस्थिति तथा वितरण एकाइ, सम्पूर्ण विवरण शाखा, प्रश्न व्यवस्थापन शाखा र अनुवाद एकाइ रहेका छन्।

प्रतिनिधिसभामा एउटा समिति समन्वय सचिवालय संसदीय सुनुवाइ विशेष समिति सचिवालय, महाअभियोग सिफारिस समिति सचिवालय, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयन अनुगमन र मूल्यांकन समिति सचिवालय, विशेषाधिकार समितिलगायत सभाका निर्णयअनुसार गठन हुने अन्य संसदीय समितिहरू रहेका छन्। प्रतिनिधिसभामा समिति समन्वय सचिवालय र राष्ट्रियसभामा विषयगत समिति सचिवालय रहेका छन्।

संसद् सचिवालयमा प्रशासन महाशाखा, सांसद सुविधा व्यवस्थापन महाशाखा, आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा, अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा र कानुनी परामर्श महाशाखा रहेका छन्। प्रशासन महाशाखामा कर्मचारी प्रशासन शाखा, सूचना तथा अभिलेख व्यवस्थापन शाखा, आर्थिक प्रशासन शाखा, मर्यादापालक तथा सुरक्षा व्यवस्थापन शाखा र निजी सचिवालय छन्।

निजी सचिवालयअन्तर्गत सभामुख, उप(सभामुख, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, विपक्षी दलका नेताको, महासचिवको, प्रतिनिधिसभा र राष्ट्रियसभाको, सचिवालय सचिवको र संसदीय अध्ययन तथा अनुसन्धान सचिवको निजी सचिवालय रहेका छन्। संसद् सुविधा व्यवस्थापन महाशाखाअन्तर्गत संसद् सुविधा व्यवस्थापन शाखा, संसदीय दल समन्वय शाखा र संसद् सुविधा व्यवस्थापन शाखाअन्तर्गत पनि स्वास्थ्य सेवा एकाइ र संसदीय दल समन्वय शाखाअन्तर्गत संसदीय दलका कार्यालयहरू छन्।

आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखामा आन्तरिक सेवा तथा योजना शाखा र सवारीसाधन व्यवस्थापन शाखा छन्। आन्तरिक सेवा तथा योजना शाखामा खरिद एकाइ, जिन्सी एकाइ र प्रबन्ध एकाइ छन्। अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामा अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखा रहेको छ। प्रविधि व्यवस्थापन महाशाखामा सूचना प्रविधि शाखा, श्रव्यदृश्य शाखा, विद्युत् शाखा, मुद्रण तथा प्रकाशन शाखा छन्। कानुनी परामर्श महाशाखामा कानुनी परामर्श शाखा, संसदीय अध्ययन तथा अनुसन्धान सचिवालय सचिवअन्तर्गत संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा र मानव संशाधन विकास महाशाखा छन्।

संसदीय अध्ययन तथा अनुसन्धान महाशाखामा संसदीय अध्ययन तथा अनुसन्धान शाखा, प्रत्यायोजित व्यवस्थापन अध्ययन शाखा, पुस्तकालय शाखा र नागरिक सम्बन्ध शाखा रहेको छ। पुस्तकालय शाखामा संसदीय संग्रहालय पनि रहनेछ। मानव संशाधन विकास महाशाखामा जनशक्ति योजना तथा संगठन विकास शाखा, संसदीय प्रशिक्षण शाखा, कर्मचारी प्रशिक्षण शाखा र प्रदेशसभा सम्पर्क तथा समन्वय शाखा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्