अवैध उत्खनन गर्ने २४ ट्र्याक्टर नियन्त्रणमा



 

चितवन । पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले अवैध उत्खनन गरिरहेको अवस्थामा शुक्रबार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो । सो खोलामा ढुंगा गिट्टी उत्खननको लागि कालिका नगरपालिकाको कञ्चन निर्माणले ठेक्का पारेको थियो । जिल्ला समन्वय समितिमार्फत चितवनका खोलानालाबाट ढुंगा गिट्टी निकासीको टेण्डर हुने गरेको छ ।

यसअघि पनि पटक–पटक अवैधरुपमा निकासी हुने गरेको भन्ने व्यापक जनगुनासो बढेपछि स्थानीय निकायले अनुगमन गर्ने क्रममा ट्र्याक्टर नियन्त्रणमा लिएको प्रमुख वनले बताउनुभयो ।

चितवनका खोलामा पछिल्लो समय अवैधरुपमा ढुंगा गिट्टीको निकासी व्यापक हुने गरेको जनगुनासा आइरहेको छ । प्राविधिकले तोकेको स्थानभन्दा बाहिरबाट ढुंगा गिट्टी बालुवा निकासी गर्दा प्राकृतिक स्रोतको दुरुपयोग हुने र अवैध हुने जिल्ला समन्वय समिति चितवनले जनाएको छ ।

सो क्षेत्रबाट लाखौँ टिप अवैधरुपमा निकासी भएको भन्दै प्रमुख वनले आफ्नो क्षेत्रमा यस खाले उत्खनन हुन नदिने बताउनुभयो । सो क्षेत्र रत्ननगर नगरपालिकाको वडा नम्बर १४ मा पर्दछ ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले २४ वटै ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको जानकारी दिँदै कारबाहीका लागि जिल्ला समन्वय समिति भरतपुरमा पठाएको बताउनुभयो ।

प्राविधिकले तोकेको स्थानबाहेक अन्यत्रबाट ढुंगा, गिट्टी, बालुवा निकासी गरिएको भए उनीहरुलाई कारबाही गरिने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिनुभयो । कारबाहीमा जरिवाना, सामान जफतलगायत ठेक्कासमेत रद्द गर्नसकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्