बजेट अभावमा शिक्षकको तलब खुवाउन समस्या



म्याग्दी । म्याग्दीका स्थानीय तहमा आवश्यकताअनुसार बजेट उपलब्ध नभएपछि शिक्षकलाई तलब खुवाउन समस्या भएको छ ।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बजेटको अभावका कारण सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताले समयमै तलब पाउन सकेका छैनन् ।

अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब भत्ताको लागि पर्याप्त बजेट नपठाएको, पठाएको पनि कोष तथा लेखानियन्त्रकको कार्यालयले अख्तियारी नदिएको र अपुग बजेट कसरी जुटाउने भन्ने विषयमा समन्वयको अभावमा समस्या सिर्जना भएको हो । अन्नपूर्ण गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकले अर्थ मन्त्रालयले पठाएको बजेट नपुगे पनि अन्य स्रोतबाट व्यवस्थापन गरेर दोस्रो चौमासिकको फागुनसम्मको शिक्षक कर्मचारीको तलब निकासा गर्ने निर्णय गरेको छ ।

दोस्रो चौमासिकको पूरा तलब निकाशा गर्ने र अपुग बजेटका लागि अर्थ मन्त्रालयमा माग गर्ने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं २ का अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो । अन्नपूर्णमा कार्यरत ३०२ जना शिक्षकले पहिलो चौमासिकको समेत पूरा तलब पाउनसकेका छैनन् ।

यसैगरी बेनी नगरपालिकाले दोस्रो चौमासिकको मंसिर र पुस महिनाको मात्र तलब निकासा गरेको छ । शिक्षकको तलबका लागि वार्षिक रु १६ करोड बजेट आवश्यक पर्नेमा अर्थ मन्त्रालयले रु १२ करोड पठाएको थियो भने रु आठ करोड मात्र निकासा भएको छ ।

निकासा भएको रु आठ करोडमध्ये रु पाँच करोड ८५ लाख पहिलो चौमासिकमा वितरण गरिएको र दोस्रो चौमासिकमा दुई महिनाको रु दुई करोड ६४ लाख वितरण गरेको र थप बजेटको पहल गरेको बेनपाका प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो । बेनपाका विद्यालयमा पाँच सय ५४ जना शिक्षक कार्यरत छन् ।

रघुगंगा गाउँपालिकाले अझै दोस्रो चौमासिकको तलब निकासा गर्न सकेको छैन् । जति, पुग्छ त्यति तलब एक, दुई दिनमा विद्यालयको खातामा निकासा गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण चापागार्इंले बताउनुभयो । रघुगंगाका विद्यालयमा दुई सय ७८ शिक्षक कार्यरत छन् ।

धौलागिरि, मालीका र मंगला गाउँपालिकाले पनि पहिलो र दोस्रो चौमासिकको तलब खाए पनि तेस्रो चौमासिकका लागि आवश्यकपर्ने बजेट अपुग भएको जनाएका छन् । शिक्षक संगठनका प्रतिनिधिले समयमै तलब खुवाउन नसकेको भन्दै स्थानीय तहमा दबाब दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्