बास्ना नआउने फूल सुँघ्दा 



रामसुन्दर देउजा
नेपाली साहित्यमा सबैभन्दा बढी लेखिने विधा कविता हो। टिनएज (१३ वर्षदेखि १९ वर्षसम्म) को उमेरमा मानिसले प्रेम गर्दा कविता एकपटक लेखेकै हुन्छ भन्ने भनाइ छ तर कति मानिस साहित्यमा निरन्तर लागिरहन्छन् र कति पानीको फोकाझैँ छिट्टै फुट्छन्।

काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका निवासी कमल कुइँकेलले आफ्नो दोस्रो कृति ‘बास्ना नआउने फूल हुँ म’ नामको कवितासङ्ग्रह हालै प्रकाशित गरेका छन्। यसअघि उनले ‘नरुनु आमा’ कवितासङ्ग्रह प्रकाशित गरिसकेका छन्। नमोबुद्ध नगरपालिकामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत उनी साहित्यमा पनि दिल खोलेर अगाडि बढ्न रुचाइरहेछन्। जनमत प्रकाशनद्वारा प्रकाशित यस कृतिमा उनका ४१ वटा कविताहरू सङ्ग्रहित छन्। यस सङ्ग्रहको रचनास्रोतलाई उनी यसरी व्यक्त गर्छन्– ‘सबैतिर मान्य हुनु फूलको विशेषता हो। सामाजिक, आर्थिक, पारिवारिक एवं वरपरको वातावरण आफू विपरीत बन्दा सर्वमान्य फूलको बास्नाप्रतिको वितृष्णा, बास्नाप्रतिको नकारात्मक चिन्तन र त्यसबाट उत्पादन भएको अव्यावहारिक मन्थनबाट निस्किएको गन्धहरूको सङ्ग्रह।’

यस कवितासङ्ग्रहमा उनका कविताहरूले देश र समाजमा छरिँदै गइरहेका विकृति एवं विसंगति अनि देशको अत्यन्त संवेदनशील अवस्थाप्रति औंला ठड्याइएका छन्। ‘क्या नमिठो’ शीर्षकको कवितामा उनी यसरी पोखिन्छन्–
भनूँ भने खै के भनूँ
खोक्रो आडम्बर कसरी खोलूँ
नभनूँ भने खै म कसरी नभनूँ
खालि पेट केले पो भरुँ?
भो गोष्ठी सेमिनारको कुरै नगरुँ
ज्यामी ज्यालादारी टन्न खान्छन् सोच्दै नसोचौं।
जीवनमा जहिले पनि आशावादी बन्नुपर्छ। कालो बादल मडारिइरहँदा पनि त्यहाँभित्र चाँदीको घेरा देख्न सकिन्छ। तर उनीभित्र विद्रोह उकुसमुकुस भएर बसेको छ। उनी कवितामा लेख्छन्–
क्रान्तिका सोचले सल्बलाएका यी हातहरू आह्वान गरिरहेछन्

ए ⁄ गाउँ–बस्ती, पाखा–पखेरा
उठ न हौ आफ्नो गाउँ बनाउन
आफ्नो घरमा आफैंलाई दासी बनाउनेलाई पाता कसेर
तिम्रो र मेरो उपस्थितिमा मृत्युदण्ड दिन
उनी मास्टरको कमाइबाट असन्तुष्ट छन् र मास्टरको कमाइ भनेको चिल्ला गाडीबाट झरेर पनि नमस्कार सर भन्छन् भनी व्यङ्ग्य कस्न पनि पछि पर्दैनन्। उनका कविताले प्रेमका संयोग–वियोगलाई पनि पर्गेल्न भ्याएका छन्। ‘एउटा संयोग’ शीर्षकको कवितामा उनी यस्तो याद दिलाउँछन्–
वर्षौं पहिला
साटिएका धड्कनहरू
साँचिएका सपनाहरू
बिताएका वसन्तहरू
समाइएका हातहरू
अचानक शहरको भीडमा देखिनु
फरक यति मात्र थियो
उनका हात थाम्ने अरू कोही थिए
मेरा अरू कोही
उनी उतै उमङ्गित थिइन्
म यतै प्रफुल्लित थिएँ
बस आँखा आँखा रोकिए
मुटु मुटु चर्किए
भर्खरै मात्र जनमत प्रकाशन नेपालबाट विमोचित यस सङ्ग्रहमा उनले आफ्ना वेदनाहरू, छटपटीहरू पोखेका छन्। कवितामा कतिपय वर्णनात्मक अभिव्यक्तिहरू पाइन्छन्, तीबाट मुक्त रही अझै शिल्पयुक्त चोटिला कविताहरू सिर्जना गर्न सकून्, शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्