कान्छीको व्यापार कायमै, थपियो पञ्जे बाजा



पति वियोगबाट लामो समय शोकमा डुबेकी निर्मात्री तथा नायिका श्वेता खड्काले त्यसबाट सम्हालिँदै केही समयको अन्तरालपछि निर्माण गरेको फिल्म कान्छीले दोस्रो सातामा पनि राम्रो व्यापार गरेको छ।

काया फिल्म्स् प्रालिको प्रस्तुतिमा श्वेता खड्काद्वारा प्रस्तुत तथा शैलेश खड्काद्वारा निर्मित यो फिल्ममा पारिवारिक प्रेममा सांगीतिक कथा उनिएको छ। यो फिल्मलाई नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काद्वारा निर्मित १ सय दिन मनाउन सफल फिल्म कोहिनुरका निर्देशक आकाश अधिकारीले निर्देशन गरेका छन्।

फिल्ममा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जयनन्द लामा, निर शाहलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। रविन खड्का सहनिर्माता रहेको फिल्ममा लेखन यम थापा, संगीत अर्जुन पोखरेल र राजनराज शिवाकोटी, नृत्य वसन्त श्रेष्ठ, द्वन्द्व हिमाल केसी, छायांकन पुरुषोत्तम प्रधान तथा सम्पादन वनिष शाह र भूपेन्द्र अधिकारीको रहेको छ। यसको चरी चट्ट परी बोलको गीत थप आकर्षण बनेको छ। संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको यो गीतले १ करोड बढी भ्युज पाएको थियो।

‘गत हप्तादेखि नेपाली सिने जगत कान्छीमय भएको छ। प्रदर्शनको दोस्रो हप्तासम्म आइपुग्दा पनि कान्छीप्रति मेरा आदरणीय दर्शकको माया र साथमा कुनै कमी आएको छैन’, नायिका तथा निर्मात्री श्वेता खड्काले दर्शकप्रति आभार प्रकट गर्दै स्टाटस लेखेकी छिन्– ‘यो अटुट साथ र अनगिन्ती मायाका लागि म आभारी छु।’

यसैबीच अर्को १ फिल्मसँगै आधुनिक प्रेम कथामा आधारित फिल्म पञ्चे बाजा शुक्रबारबाट अल नेपाल रिलिजमा आएको छ।
घनश्याम लामिछानेको निर्देशनमा राजेश शाहीले निर्माण गरेको फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्मा शाक्यलाई विभिन्न पात्रमा बाँधेर त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ।

सारा गुरुङ सहनिर्माता रहेको फिल्ममा सौगात मल्ल, कर्मा शाक्य, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, विमला गिरी, देशभक्त खनाल, सविन बाँसतोला, प्रमिला तुलाचन, राजेश शाही, युवराज भण्डारी, तेज गिरी प्रमुख भूमिकामा छन्। फिल्ममा कालीप्रसाद बासकोटा र विकाश चौधरीको संगीत, प्रदीप भारद्धाजको लेखन र हरि घले लामाको छायांकन रहेको छ।
सुवास गिरी र भुवन केसीको निर्माणमा सुरेन्द्र पौडलद्वारा निर्देशित अर्को फिल्म हिजो शुक्रबारबाटै तेस्रो सातामा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्