दुम्जाबाट कलायात्रा



धरणीधर स्मृति पुस्तकालयले ५ दिने ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ आयोजना गरेको छ। सम्पदा कलायात्राका क्रममा तयार पारिएका २४ कलाकृति शितलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएको थियो।

जागरणकवि धरणीधर कोइरालाको १२६औं जन्मजयन्तीका अवसरमा आयोजित कलायात्रा कुशेश्वर दुम्जाबाट शुरू भएको थियो। कलायात्राका क्रममा ५ जना कलाकारले सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकाका धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका पाटीपौवा, मठ, मन्दिर र मानेका साथै पुराना बजार, बस्ती र प्राकृतिक सम्पदालाई क्यानभासमा उतारेका थिए। चित्रमा पुनर्निर्माणको वर्तमान अवस्थालाई समेत झल्काइएको थियो।

प्रदर्शनीलाई विद्यार्थी, शिक्षक, शिक्षिका, जनप्रतिनिधि तथा स्थानीयवासीले रुचिपूर्वक अवलोकन गरेका थिए। सो अवसरमा सुनकोशी गाउँपालिका–६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिना, विद्यालयका प्रधानाध्यापक शंकर उप्रेती र समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले सम्पदा कला यात्राले सम्पदा संरक्षणमा जागरण ल्याउने विश्वास व्यक्त गरेका थिए।

यस्तै, कलाकार सुरेम देशार र यात्रा संयोजक दीपक श्रेष्ठ ‘विहीन’ ले सुनकोशी क्षेत्रमा रहेका सम्पदाको अवस्था नाजुक रहेको र यसको संरक्षणमा स्थानीय जनता र जनप्रतिनिधि जुट्नुपर्ने धारणा राखे। कलायात्रामा कलाकार सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, अनिल खड्का तथा मूर्तिकार राजेन्द्र देशार सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्