विद्यार्थीसँग ८ लाख ठग्ने प्रहरीको फन्दामा



काठमाडौं, (नेस)
विद्यार्थीसँग ८ लाख ठग्ने एक युवक प्रहरीको फन्दामा परेका छन्। एमबीबीएसमा भर्ना गरेको नक्कली कागजपत्र देखाएर विद्यार्थीलाई ठगी गरेको भन्दै प्रहरीले ललितपुर धोविघाटका रमेशप्रसाद चौहानलाई पक्राउ गरेको हो।

उनले भारतको बनारस हिन्दू विश्वविद्यालयमा एमबीबीएसमा भर्ना गरिदिने भन्दै एक विद्यार्थीसँग ८ लाख रुपियाँ लिएका थिए। भर्नाको नक्कली कागज देखाएर ठगी गरेको प्रहरीले जनाएको छ। अरूलाई पनि उनले ठगी गरेको हुनसक्ने आंशका गरिएको छ।महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका चौहान जिपिसी कन्सलटेन्सीका कर्मचारी हुन्। सो कन्सलटेन्सीका सञ्चालक अंकित गुप्ताको जाहेरीमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले ३५ देखि ४० लाखमा भर्ना गरिदिने भन्दै विश्वासमा पारेर ठगी गरेका हुन्। भर्नाको नक्कली कागज देखाएर उनले ८ लाख लिएको र थप ३० लाख रुपियाँ माग्ने क्रममा कन्सलटेन्सीका सञ्चालकले थाहा पाएपछि प्रहरीमा उजुरी गरेर पक्राउ गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्