पत्रिकाको व्यापारबाट अर्बपति



PERTH, AUSTRALIA – MAY 07: Sir Richard Branson conducts a television interview at Perth Airport on May 7, 2013 in Perth, Australia. Virgin Australia purchased Perth-based regional airline, Skywest adding another 32 planes to it’s fleet to expand the airlines regional operations in Australia. (Photo by Paul Kane/Getty Images)

काठमाडौं, (नेस)
नवीन सोच र जोखिम मोल्न सक्ने खुबीले अर्बपति बनेका थोरै व्यक्तिको सूचीमा बेलायती अर्बपति व्यापारी र लगानीकर्ता, रिचर्ड ब्रान्सन् पनि पर्छन्। सन् १९५० जुलाई १८ मा लन्डनको ब्ल्याकहिथमा जन्मिएका ब्रान्सन ‘भर्जिन ग्रुप’का संस्थापक अध्यक्ष हुन्। ब्रान्सनको भर्जिन ग्रुपमा हाल ४ सय वटा कम्पनी आबद्ध छन्। विशेषगरी वायुसेवा, पर्यटन तथा अतिथि सत्कार र सांगितिक क्षेत्रमा ब्रान्सनलाई हस्ती मानिन्छ।

१६ वर्षको उमेरमै स्कूलको पढाइ छाडेपछि पत्रिकापछि उनले सन् १९७० मा हुलाकद्वारा अडियो रेकर्ड बेच्ने व्यापार शुरू गरे। सन् १९७२ मा ब्रान्सनले सांगीतिक रेकर्ड बेच्ने स्टोरको ‘चेन’का रूपमा त्यही व्यापारलाई अघि बढाए। पछि सोही व्यापारिक ‘चेन’ भर्जिन मेगास्टोरका रूपमा विश्वभर प्रख्यात भयो।

पढाइमा कमजोर भए पनि औपचारिक शिक्षा छोडी आफ्नो रुचि र अनौपचारिक शिक्षाबाट अघि बढेका ब्रान्सन्ले १६ वर्षकै उमेरमा ‘द स्टुडेन्ट’ नामक म्यागजिन प्रकाशन शुरू गरे। उनको पहिलो व्यावसायिक कार्य त्यहीँबाट शुरू भयो जसको ५० हजारप्रति निःशुल्क बाडेका थिए। ८ हजार डलर बराबरको विज्ञापन बटुलेका थिए। उक्त पत्रिका सो समयमा विद्यार्थीमाझ निकै लोकप्रिय थियो।

हाल ५ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक ब्रान्सन आफ्ना सहकर्मी तथा कर्मचारीसँग सहज सम्बन्ध राख्न रुचाउँछन्। कुनै पनि काम गर्न मानिसमा इच्छाशक्ति र नवीन सोच हुनैपर्ने बताउने ब्रान्सनले एक अन्तरवार्तामा भनेका छन्– ‘मेरा लागि व्यापार भनेको सुट लगाउनु र साझेदारलाई खुशी पार्नु होइन, यो त आफू र आफ्नो सोचाइप्रति इमानदार हुनु र मूलभूत कुरामा केन्द्रित हुनु हो।’

बेलायतको उच्च अदालतका न्यायाधीश जर्ज हारविन ब्रान्सनका नाति रिचर्डलाई ‘डिस्लेक्सि’ नामक समस्या थियो जसका कारण उनी पढाइमा कमजोर थिए। तर, उनको इच्छाशक्ति, जोखिम उठाउन सक्ने क्षमता र अरूसँग सम्पर्क बढाउन सक्ने खुबी भने अरूको भन्दा फरक थियो। १६ वर्षको उमेरमै स्कूलको पढाइ छाडेपछि पत्रिकापछि उनले सन् १९७० मा हुलाकद्वारा अडियो रेकर्ड बेच्ने व्यापार शुरू गरे। सन् १९७२ मा ब्रान्सनले सांगीतिक रेकर्ड बेच्ने स्टोरको ‘चेन’का रूपमा त्यही व्यापारलाई अघि बढाए। पछि सोही व्यापारिक ‘चेन’ भर्जिन मेगास्टोरका रूपमा विश्वभर प्रख्यात भयो।

भर्जिन मेगास्टोरपछि उनले सन् १९७२ मै स्थापना गरेको रेकर्ड कम्पनी भर्जिन रेकर्डसमार्फत् विश्वका प्रमुख सांगीतिक ब्यान्डका एल्बम बजारका ल्याएका छन्। त्यसैगरी रिचर्डले सन् १९८४ मा स्थापना भएको ‘भर्जिन एटलान्टिक एयरवेज’ उनको अर्को व्यावसायिक सफलता मानिन्छ।

ब्रान्सनको जोखिम उठाउँदै लगानी गर्ने क्षमता सबैतिर प्रशंसनीय छ। उनले गरेको एक जोखिमयुक्त लगानीमा भर्जिन ट्रेन्स नामक रेलसेवा उल्लेखनीय छ। रेलसेवा अत्यन्त जोखिमयुक्त रहेको र त्यसमा लगानी नगर्न दिइएको सुझावको बेवास्ता गर्दै उनले भर्जिन ट्रेन्समार्फत ‘ब्रिटिस क्रस क्रन्ट्री सेक्टर’ रेल सेवा शुरू गरेका थिए। प्रायः व्यवसायमा सफल गनिए पनि ब्रान्सन केही लगानीमा भने असफल रहे। हलुका पेयपदार्थ ‘भर्जिन कोला’ र मदिरा ‘भर्जिन भोड्का’ बजारमा त्यति नरुचाइएपछि बन्द भएका छन्।

सफल भए पनि ब्रान्सन व्यावसायिक जीवनमा केही विवादमा मुछिएका पनि छन्। सन् २००६ मा उनलाई ब्रिटिस एयरवेजसँग मिलेर हवाई टिकटको मूल्य निर्धारण गरी प्रतिस्पर्धाका नियमको उल्लघङ्न गरेको आरोप लगाइएको थियो।

ब्रान्सनले सन् २००४ मा आफ्नो लगानी अन्तरिक्ष पर्यटनमा गर्ने घोषणा गरेका थिए। त्यसका लागि अन्तरिक्ष उडान गर्ने ‘भर्जिन ग्यालेक्टिक’ नामक कम्पनी स्थापना गरेर सन् २०१८ अप्रिलसम्म यानमार्फत् अन्तरिक्षमा यात्रुहरूलाई घुमाउनका लागि तयारी भइरहेको बताइन्छ।

रिचर्ड ब्रान्सन कीर्तिमान कायम गर्न खोज्ने खेलाडीका रूपमा पनि परिचित छन्। सन् १९८७ मा उनले एक समूहसहित विश्वको सबैभन्दा ठूलो तातो हावाको बेलुनबाट एटलान्टिक महासागर पार गरी कीर्तिमान कायम गरेका थिए। सन् १९९१ को जनवरीमा त्यस्तै एक बेलुनबाट उनले जापानबाट थालेको यात्रा क्यानडामा पुगेर टुंग्याएका थिए। त्यस्तै गल्फ खेलका सौखिन रिचार्डले सन् २०१० मा अस्ट्रेलियाको मेलबर्नमा रातको अध्याँरोमा गल्फ खेल्ने कीर्तिमान बनाउन खोजेका थिए। ब्रान्सनको कम्पनी भर्जिन रेसिङले ‘मोटो जीपी’ र ‘फर्मुला वान’मा विभिन्न टिमलाई प्रायोजन पनि गर्दै आएको छ।

ब्रान्सनले विश्वका विभिन्न देशमा मानवतावादी गतिविधि पनि सञ्चानल गर्दै आएका छन्। यिनै कार्यका कारण उनी विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित भएका छन्। ब्रान्सनले आफूबारेमा एक पुस्तक पनि लेखेका छन्। ब्रान्सनको आत्मकथा ‘लुजिङ माई भर्जिनिटी’ले पाठकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो। उक्त पुस्तक अन्तरर्राष्ट्रिय ‘बेस्ट सेलर’का रूपमा रहेको छ।

(विभिन्न एजेन्सी एजेन्सीहरूको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्