बालबालिका बलात्कार हत्या हेर्न बाध्य



जुवा, (एजेन्सी)
साउथ सुडानका बालबालिकाहरू आफ्ना आमाहरूको बलात्कार र हत्या हेर्न बाध्य रहेको संयुक्त राष्ट्र संघले जनाएको छ। संयुक्त राष्ट्र संघको मानवअधिकार अनुसन्धानकर्ताले तयार पारेको एक प्रतिवेदन करिब ४० जना सरकारी अधिकारी युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि जिम्मेवार रहेको जनाइएको छ।

सो प्रतिवेदनमा ठूलो संख्यामा गाउँहरू नष्ट गरिनुका साथै सर्वसाधारणमाथि निर्मम यातना र अंगभंग गरिएको जनाइएको छ। सन् २०१५ मा शान्ति सम्झौतामा हस्ताक्षर भए पनि सरकारका प्रतिद्वन्द्वी समूहबीच साउथ सुडानमा हिंसा जारी रहेको छ।

अति क्रूर युद्ध अपराधका लागि जिम्मेवार ठहर गरिएका ४० जनामध्ये ५ जना कर्णेल र ३ जना स्टेट गभर्नर रहेका छन्। संयुक्त राष्ट्र संघद्वारा संकलित जीवित पीडितहरूको कहानीअनुसार केहीलाई परिवारका सदस्यहरूमाथि नै बलात्कार गर्न लगाइन्थ्यो।
यसले बोस्निया युद्धको भयावह घटनालाई सम्झाउने बताइएको छ। एक जना महिलाले आफ्नो १२ वर्षीय छोरालाई जीवन दान पाउनका लागि आफ्नै हजुरआमासँग यौन सम्पर्क गर्न लागेको र आफ्नै आँखासामु आफ्नो पतिको अण्डकोष काटिएको बताएकी छिन्।

अर्को एक जना पुरुषले आफ्नो एक पुरुष साथीलाई अप्राकृतिक ढंगले सामूहिक बलात्कार गरी मृत अवस्थामा झाडीमा फालिएको अवस्थामा फेला पारेको बताएका छन्। साउथ सुडानका लागि मानव अधिकार आयोगका अध्यक्ष यास्मिन सुकले साउथ सुडानमा पुरुषविरुद्धको यौन हिंसा विकराल स्थितिमा रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्