तस्करीमा दूतावासको कुरियर प्रयोग



ब्युनसआयर्स, (एजेन्सी)
अर्जेन्टिनाको सुरक्षा मन्त्रालयले रुसी दूतावासको कुरियर सेवा प्रयोग गरी युरोपतर्फ थुप्रो परिमाणमा कोकिन तस्करी गर्न लागेको योजना असफल बनाइदिएको रहस्य शुक्रबार खोलेको छ। प्रहरीले सन् २०१६ को डिसेम्बरमा रुसी राजदूतको सुराकीको आधारमा दूतावासको कूटनीतिक लगेजबाट झन्डै चार सय किलोग्राम कोकिन जफत गरेको जनाएको छ।

त्यसपछि प्रहरीले लागूऔषधको स्थानमा पिठो र ट्रयाकिङ उपकरणहरू राखेर स्टिङ अपरेसन गरेको जनाएका छन्। उक्त अपरेसनमा रसिया र अर्जेन्टिनामा थुपै्र लागूऔषध तस्कर पक्राउमा परेको जनाइएको छ।
अर्जेन्टिनी सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले ब्युनसआयर्स दूतावासमा फेला परेको सो उच्चकोटिको कोकिनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ६ करोड २० लाख अमेरिकी डलर रहेको बताएकी छिन्। उनले सो लागूऔषध रसिया र जर्मनी पठाइन लागेको बताइएको छ।

साथै बुलरिचले यस तस्करी अभियानको प्रमुख सूत्रधार जर्मनीमा रहेको र ती व्यक्तिलाई जर्मन प्रहरीले गिरफ्तार गुर्नपर्ने पनि बताएकी छिन्। अहिलेसम्म यस सम्बन्धमा दुई जना अर्जेन्टिनामा र तीन जना रसियामा पक्राउमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्