२ वर्षसम्म पनि पदाधिकारीविहीन कांग्रेस



रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको २ वर्ष भइसक्दा पनि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनित गर्न सक्नुभएको छैन। महाधिवेशन सम्पन्न भएको २ महिनाभित्र सभापतिले पदाधिकारी सदस्य रहने १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनित गर्नुपर्ने पार्टी विधानमा उल्लेख छ।

१३औं महाधिवेशनपछि नयाँ पदाधिकारी मनोनित नहुँदा सभापति देउवाले राष्ट्रिय राजनीतिको महत्वपूर्ण विषयमा निर्णय लिनुपर्दा पूर्वपदाधिकारीहरूसँग छलफल गर्दै आउनुभएको छ। पदाधिकारी सदस्य रहने पार्टी प्रवक्ता भने सभापति देउवाले हालै मनोनित गर्नुभएको छ।

२ वर्षअघि फागुनको अन्तिम साता १३औं महाधिवेशन सम्पन्न भई चैतको पहिलो साता सभापतिको कार्यभार सम्हाल्नुभएका सभापति देउवाले महाधिवेशनमा नेतृत्वको दाबी गर्दै चुनावमा होमिँदा विधानअनुसार २ महिनाभित्रै पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिनुका साथै पदाधिकारी मनोनित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

आन्तरिक गुट उपगुटमा विभाजित कांग्रेसभित्र उपसभापतिका लागि खुमबहादुर खड्का र बिमलेन्द्र निधिमध्ये १ जनालाई उपसभापति बनाउने देउवाको तयारी भए पनि पछिल्लो समय स्वास्थ्य समस्याको कारण खड्काले निधिलाई नै उपसभापतिमा समर्थन गरेका थिए। कांग्रेसभित्र केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी उपसभापतिले लिने प्राबधान छ। महामन्त्रीमा देउवा गुटभित्र थिंक ट्यांकको रूपमा चिनिने पूर्णबहादुर खड्कालाई मनोनित गर्ने देउवाको तयारी रहेको स्रोतले जनाएको छ। सहमहामन्त्रीमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल गुटका महेश आचार्यलाई मनोनित गर्न सभापति देउवालाई दबाब बढेको छ।

पार्टी सभापति विधानअनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई बेवास्था गर्ने परिपाटी कांग्रेसभित्र रहेको भन्दै कांग्रेस नेता प्रकाशमान सिंह भन्नुहुन्छ– ‘महाधिवेशन सम्पन्न भएको २ वर्ष बित्दासमेत पार्टीभित्र पदाधिकारी मनोनित भएका छैनन्।’ साथै उहाँले विधानअनुसार २ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग पनि हालसम्म गठन नभएको बताउनुभएको छ। सभापति देउवाले बाँकी केन्द्रीय सदस्यसमत मनोनित गरी केन्द्रीय समितिलाई पूर्णता दिन सक्नुभएको छैन।

पार्टी सभापति देउवाको कमजोरीका कारण हालै सम्पन्न स्थानीय, प्रादेशिक र संघीय ३ तहको निर्वाचनमा कांग्रेसले नराम्ररी हार व्यहोर्नुपरेको भन्दै आलोचना भइरहेको बेला सभापतिले पार्टीको संगठनात्मक संरचनालाई समयमै पूर्णता दिएको निर्वाचन परिणाममा सुधान हुने आवाज पनि उठिरहेको छ। कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ भन्नुहुन्छ– ‘निर्वाचनमा र्काग्रेसले हार व्यहोर्नुपर्नुको मुख्य कारण पार्टी नेतृत्वको कमजोरी नै हो।’ उहाँले पार्टी संगठनलाई चुस्तदुरुस्त राख्न नसकेको, पार्टी संगठन तथा भातृ र शुभेच्छुक संघसंस्थालाई चलायमान बनाउन नसकेकोजस्ता आरोप सभापति देउवामाथि लगाउनुभएको छ।

नेपाली कांग्रेस पार्टीलाई युवा वर्गको आशा र भरोसाको केन्द्र बनाउन जरूरी रहेको आंैल्याउदै देउवाले पार्टी विधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुक समर्थकको ऊर्जा एवम् क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउने प्रतिबद्धता गरे पनि सभापतिमा निर्वाचित भएपछि देउवाले आफूले गरेको प्रतिबद्धतालाई फर्केर नहेरेको पार्टीभित्र आरोप लागिरहेको छ। सभापति देउवाले संघीय संरचनाअनुरूप पार्टी संरचनालाई रूपान्तरित गरिने बताउँदै तेह्रौं महाधिवेशनपछि यथाशीघ्र महासमितिको बैठक बोलाइने र महासमितिमा बदलिँदो आवश्यकता र अनुभवका आधारमा विस्तृत संशोधन प्रस्ताव प्रस्तावित गरिने भने पनि उहाँले २ वर्षसम्म महासमितिको बैठक बोलाउनुभएको छैन।

नयाँ संरचनाअनुसार पार्टीको सांगठनिक संरचना तयार पार्न पनि महासमिति बैठक तत्काल बसेर विधान संशोधन गर्नुपर्ने जिल्ला सभापतिहरूले समेत आवाज उठाउँदै आएका छन्। कांग्रेस जिल्ला सभापतिहरूले तत्काल राष्ट्रिय भेला आयोजना गरी विधान संशोधनको मस्यौदा तयार पार्नुका साथै पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मू्ल्यांकन पद्धति र संगठनात्मक व्यवस्थासम्बन्धी ठोस प्रस्ताव तयार पार्ने र उक्त प्रस्ताव केन्द्रीय समिति र महासमिति बैठकमा लैजाने तयारीसमेत गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्