अनुमति नलिई वित्तिय कारोबार गर्ने पक्राउ



काठमाडौं । नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तिय कारोबार गर्ने अनुमति नलिई सुनसरी र मोरङमा सञ्चालित थप ३ कम्पनीमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महानराजगंज काठमाडौं र १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान टोलीले बिहीबार संयुक्त कार्वाहीमा छापा मारी थप १ जना संचालकलाई पक्राउ गरेको छ ।

छापा मारिएका कम्पनीमध्ये गृहलक्ष्मी ईलेक्ट्रोनिक सप्लायर्स, ईटहरी–१२ खनार, सुनसरीका संचालक बाबुराम न्यौपाने हाल फरार रहेका छन् । उक्र सप्लायर्समा स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम ४ करोड २५ लाख रुपैयाँ रहेको खुल्न आएको छ । सो संस्थाबाट पासबुक १ हजार ४ सय ४७ थान, नगद जम्मा भौचर ४५ थान, बचत रजिष्ट्रर १३ थान, ऋण रजिष्ट्रर ८ थान, तमसुक कागज २ थान, स्टायाम्प १ थान र नगद ८९ हजार २ सय रुपैयाँ बरामद भएको छ ।

यसैगरी मोरङ विराटनगर–६ स्थित न्यू आभाष फेन्सी स्टोरबाट मोरङ विराटनगर महानगरपालिका–६ बस्ने ३८ वर्षीय सिताराम लुइटेल पक्राउ परेका छन् । उक्र स्टोरमा स्थानीयबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम २ करोड ८६ लाख ८ सय २५ रहेको खुल्न आएको छ । उक्त स्टोरबाट एकाउन्ट खाता २ थान, चेकबुक २ थान, तमसुक ५ थान, नगद फाराम १० थान, पासबुकहरु र नगद १० हजार रुपैयाँ बरामद भएको छ ।

यसैगरी उक्त कार्यमा संलग्न पूर्णागरी बचत इन्भेष्टमेन्ट प्रालि ईटहरी, सुनसरीका संचालक नरबहादुर विष्ट हाल फरार रहेका छन् । उक्त संस्थामा स्थानीयबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम १ करोड २० लाख रुपैयाँ रहेको खुल्न आएको छ । सो संस्थाबाट पासबुक ४ सय ४३ थान, नगद भौचर १ सय ७ थान, भुक्तानी भर्पाई ५ थान, सापटी फाराम १४ थान, करारनामा पत्र १२ थान र कलेक्सन फाराम ४ सय ५९ थान बरामद भएको छ ।

उक्त घटनाका सम्बन्धमा बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०३७ को बर्खिलाप गरेको कसुर अपराधमा अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्