जनप्रतिनिधिलाई अनौपचारिक शिक्षा सम्बन्धि अभिमुखीकरण



भक्तपुर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले स्थानीय तहका पदाधिकारीका लागि अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाई केन्द्र सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।

जगातीमा आयोजित कार्यक्रममा प्रा.डा.बिद्यानाथ कोईरालाले जीवन पर्यन्त शिक्षाको परिचय आवश्यकता र भावी गन्तब्य बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने बिमला मिश्रले अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाई केन्द्रको बिगत ,बर्तमान र भावी गन्तब्य बारे र मनशोभा त्वातीले भक्तपुरमा नमुनाका रुपमा रहेको चित्तपोल सामुदायिक सिकाई केन्द्र बारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणी पौडेलले अनौपचारिक शिक्षा नभए सिकाईको क्रम भंग हुने बताउँदै २५ बर्ष माथिका ब्यक्तिलाई समेट्ने गरी स्थानीय तहले निरन्तर शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

युनेस्को नेपालका प्रतिनिधि बलराम तिमिल्सिनाले अनौपचारिक शिक्षा कार्यमुलक,सीपमुलक र जीवनउपयोगी हुनुपर्नेमा जोड दिंदै यस अन्तर्गत पुख्र्यौली ज्ञानलाई पनि जोड्नुपर्ने बताउनुभयो ।

अनौपचारिक शिक्षा केन्द्र र युनेस्को नेपालको संयुक्त आयोजनामा अन्तरक्रियात्मक रुपमा संचालित कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले मोवाईल चलाउन पनि अनौपचारिक शिक्षा चाहिने बताउँदै ब्यबहारमा निरन्तर शिक्षाको महत्व बढ्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीले अनौपचारिक शिक्षाले नागरिकको जीवन स्तरमा बृद्घि हुने बताउँदै अब स्थानीय तहले यस क्षेत्रमा सकृयाताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र,सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापा,मध्यपुरथिमी नगरपालिकाका उपप्रमुख अन्जना मधिकर्मी,सुर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत लगायतले निरन्तर शिक्षामा काम गर्न खोजे पनि नगरपालिकामा आर्थिक अभाव भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका ४ वटै नगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्