नेपाल–भारत संयुक्त सर्वेक्षण टोली दशगजा क्षेत्रको निरिक्षणमा



सरोज यादव, विराटनगर । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दशगजा क्षेत्रको अनुगमन र निरिक्षण गरेको छ ।

सीमा क्षेत्रका स्तम्भहरुको निरिक्षण र तथ्याङक लिने कार्य गरिरहेको अनुगमन टोलीले जनाएको छ ।

निरिक्षणका क्रममा दशगजा क्षेत्रभित्रका स्तम्भहरुको तथ्यांक संकलन गर्ने कार्य भएको पाइएको छ । मोरङमा ६३ किलोमिटर खुला सिमाना रहेको छ । यस्तै सिमा स्तम्भ १ सय ६७ बाट सुरु भएको छ ।

अहिले मोरङको सीमा क्षेत्रमा त्यस्तो कुनै पनि समस्या नरहेको तर नो मेन्स लेन्ड भित्र भने ससाना घर र बाटा बनाइएको पाइएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो ।

हाल ताप्लेजुङदेखि सुनसरीसम्म सिमा स्तम्भ निरिक्षण गर्ने र भत्केका सिमा स्तम्भ बनाउने कार्य द्रुत गतिमा भैरहेको छ । झापामा स्तम्भ निर्माण कार्य भैरहेको छ भने मोरङको दशगजा क्षेत्रमा निरिक्षण गरी तथ्यांक लिने कार्य भैरहेको नापी विभागका अधिकृत शिव लम्सालले बताउनुभयो ।

संकलित तथ्याङक परराष्ट्र मन्त्रालयमा पठाउने बताउनुभयो । संयुक्त सीमा सर्वेक्षण टोलीले कार्यलाई तिव्र रुपमा अगाडि बढाएको छ । नेपाल भारत सिमा सर्वेक्षण टोलीले स्थानीय जनतासँग सहकार्य गरेर कामलाई अगाडि बढाएको सशस्त्र सिमा सुरक्षा बल कार्यालय रानीका प्रमुख भेषबहादुर शाहले बताउनुभयो ।

भारततर्फ सर्वेयर नरेशकुमार र नेपालतर्फ इन्जिनियर गिरिजा पोखरेलको नेतृत्वमा काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्