माओवादीमा मन्त्री बन्नेको सूचि तयार, काे-काे बन्दैछन मन्त्री ?



काठमाडौं । आफू गृहमन्त्री अनि श्रीमती ओनसरी घर्तीलाई सभामुख बनाउने दाउमा रहेको माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्न एक परिवार एक पदको मारमा पर्ने भएका छन् ।

गृहमन्त्रालयमा माओवादी जनयुद्धदेखिका प्रभावशाली नेता राम बहादुर थापा बादलले दावी गरेपछि अनन्तको गृहमन्त्री पद लिने योजना लगभग असफल भएको छ । गृहमन्त्री र सभामुख दुवै पदमा दावी गरिरहेको पुन परिवारले एक पद पनि पाउन मुश्किल हुने देखिएको छ । सभामुख पाएको माओवादी केन्द्रले सो सम्वन्धमा निर्णय गरिसकेको छैन ।

पछिल्लो समय उत्तरतिरबाट समेत नरुचाइएका पात्र अनन्तलाई पार्टीभित्रैबाट समेत आवश्यकताभन्दा धेरै लाभको पद लिएको भन्दै आलोचना सुरु भएको छ ।

पार्टीभित्र ठूलो योगदान रहेर पनि छोटो समय मात्रै लाभको पद लिएका बादल गृह बनाउनुपर्ने चर्को दवाव उत्पन्न भएको छ । नारायणकाजी श्रेष्ठ, बादल र अध्यक्ष प्रचण्ड स्वयम् तीन सदस्य मन्त्रि छनौट कार्यदलले यस पटक बादलको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गर्ने लगभग निश्चित जस्तै रहेको माओवादी सूत्र बताउँछ ।

माओवादीभित्र गृहमन्त्रालयको लागि भएको लडाईमा लगभग पछाडि पर्ने निश्चित भएका अनन्त पछिल्लो समय आफूले गृहमन्त्रालय नपाए ओनसरीलाई सभामुख बनाउनुपर्ने अडान दह्रोसँग राखेका छन् ।

उता, माओवादीबाट मन्त्री बन्नेहरुको अन्तिम सूचि लगभग तयार भएको छ । गृहमा बादल, जलस्रोत तथा उर्जामा जनार्दन शर्मा, श्रममा लेखराज भट्ट, वन तथा भूमि व्यवस्थापनमा मातृका यादव, शहरी विकास तथा आवास मन्त्रालयमा पम्फा भुषाल जाने लगभग तय भएको तर, अन्तिम निर्णय गर्न बाँकी रहेको सूत्रको दावी छ ।

यता, माओवादी केन्द्रको भागमा परेको कृषि तथा सहकारी मन्त्रालयमा भने कसैले पनि चासो नदेखाएपछि प्रचण्डले आफू निकट वा आफ्ना नातेदारलाई पठाउने सम्भावना रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्