गोल्डकप विभागीय टोलीलाई पक्का



रोशन पराजुली, हेटौंडा

हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सीएमजी संकटा हारेपछि उपाधि विभागीय टोलीले लैजाने पक्का भएको छ।

नेपाल पुलिस क्लबले बिहीबारको खेलमा संकटालाई २–० ले हराएर शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबसँग भेट पक्का गरेको हो। यसअघि बुधबारको पहिलो सेमिफाइनलमा मनाङ–मस्र्याङ्दीलाई १–० ले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरिसकेको छ।

हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा जारी प्रतियोगितामा पुलिसले संकटालाई सहज पराजित गर्यो। पुलिसका लागि दिनेश राजवंशीले १९औं मिनेटमा र नीरकुमार राईले ५३औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ द म्याच नीरकुमार घोषित भए। उनले नगद ५ हजार रुपियाँ प्राप्त गरे।

दिनेशले डी–बक्स नजिक प्राप्त फ्रिकिकमा हेडमार्फत गोल गरेका थिए। पुलिसका फरवार्ड सुमन लामाले उपलब्ध गराएको बलमा उनले हेड गरेका थिए। नीरकुमारले गरेको दोस्रो गोल भने आकर्षक थियो। उनले डी–बक्सभित्र सुमन लामाले उपलब्ध गराएको बललाई संकटाका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरेका थिए। उनको प्रहारमा संकटाका कप्तानसमेत रहेका गोलरक्षक विनय श्रेष्ठले प्रतिक्रिया जनाउनै पाएनन्। संकटाले पहिलो हाफमा खासै ‘मुभ’ बनाउन सधकेन।

दोस्रो हाफमा संकटामाथि पुलिस हाबी भएको थियो। तर, पुलिसले दोस्रो हाफमा आधा दर्जनभन्दा बढी मौकाको सदुपयोग गर्न सकेन। संकटाका गोलरक्षक विनयले ८८औं मिनेटमा नीरकुमारले सिक्स यार्ड बक्सबाट प्रहार गरेको बललाई उत्कृष्ट बचाउ गरेका थिए।

खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताउँदै भने– ‘हामीले खेलाडीलाई दिएको रणनीतिअनुसार खेल भयो। हामीले विपक्षी कमजोरभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शन हुँदा खेल जित्न सक्यौं।’ उनले आर्मीविरुद्ध फाइनलका लागि आफूहरू तयार रहेको बताए।

आर्मी सँगको फाइनल भिडन्त ५०–५० हुने बताउँदै उनले पुलिसले सेमिफाइनलकै सेट उतार्ने र उपाधि जित्ने दाबी गरे। पोस्टम्याच कन्फ्रेन्समा संकटाका प्रशिक्षक सल्यान खड्गीले सहभागिता जनाएनन्।

प्रतिक्रिया दिनुहोस्