मन्त्रालय बाँडफाँडको गाँठो फुक्यो



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको छ। एमाले र माओवादीबीच भएको छलफलले मन्त्रालय बाँडफाँड गर्ने सहमति गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा मन्त्रालय भागवण्डा गर्ने सहमति जुटेको छ।

एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासनलगायत १० मन्त्रालय लिने र माओवादीले गृह र ऊर्जासहित ७ मन्त्रालय लिने सहमति भएको छ। दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो।

एमालेले अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या लिने सहमति भएको छ।

त्यसैगरी माओवादी केन्द्रले सात मन्त्रालय पाएको छ। गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय लिएको छ।

एमालेले मन्त्री छनोट गर्न आज शुक्रबार पार्टी स्थायी समितिको बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले आठ मन्त्रीको टुंगो लगाउने छ। एमालेका तर्फबाट प्रधानमन्त्री ओलीले शपथ लिएकै दिन दुई जना मन्त्री सरकारमा सहभागी भइसकेका छन्।

एमालेले मन्त्री छान्न आन्तरिक गृहकार्य गरिरहेको छ। एमालेबाट मन्त्री बन्नका लागि दुई दर्जनभन्दा बढी नेताहरू दौडमा रहेका छन्। एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले पाएको १० मन्त्रालयमा मन्त्रीको टुंगो आज बस्ने स्थायी समिति बैठकले लगाउने बताउनुभयो। मन्त्री पदमा दुई दर्जनभन्दा बढीले आकांक्षा देखाएपछि प्रधानमन्त्री ओली तनाबमा पर्नुभएको छ।

एमालेभित्र अर्थ मन्त्रालय कसले लिने भन्ने विषयमा हानाथाप शुरू भएको छ। अर्थमन्त्रीमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीको नाम चर्चामा रहेको छ। मन्त्री बन्नेमा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठको नाम चर्चामा रहेको छ। सुरेन्द्र पाण्डे, शेरबहादुर तामाङ, रवीन्द्र अधिकारी, पद्मा अर्यालको नाम पनि मन्त्री बन्नेको चर्चामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्