चौकीदारीदेखि आईपीएलको यात्रा गरेका मन्जुर अहमद



कविरस शर्मा

उनी टाटा मोटर्स कम्पनीमा आफ्नो रात्रिकालीन चौकीदारको ड्युटी सकिनासाथ क्रिकेट मैदानतिर दौडिने गर्दथे। जीविकोपार्जनका लागि काठ काट्ने र चौकीदारी गरेपश्चात्को समय उनले क्रिकेट खेल्नमा खर्चन्थे। गल्लीहरूमा छक्का हान्दै गरेको देखेर स्थानीय प्रशिक्षकले जुन दिनदेखि क्लबमा खेलाउन थाले, उनलाई त्यहाँ पनि समयमा नै पुग्नुपर्ने अर्को काम थपिएको थियो। क्रिकेट उसका लागि नशा नै बनेको थियो। तर, आफ्नो आवश्यकता पूर्ति क्रिकेट खेलेर मात्र सम्भव थिएन। जसले गर्दा उनलाई आफूले गरिरहेको काम पनि करले नै गर्नुपरिरहेको थियो।

दायाँहाते ब्याट्सम्यान र मध्यम पेस बलर आफ्नो क्लबबाट म्याच खेल्ने प्रयासमा लागिरहन्थे। अनि एकदिन यस्तो आयो। क्लबबाट आफ्नो पहिलो म्याच खेल्ने क्रममा अरू खेल सामग्रीको त कुरै छोडौं, लगाउने जुत्तासमेत उनीसँग थिएन। कास्मिर र लेहबीच खेलिएको आफ्नो पहिलो म्याचमा जुत्ताविहीन उनले २ सय ४० रनको पारीमा उनले २३ छक्का प्रहार गरेका थिए। सन् २०१७ मा उनले भारतको प्रतिष्ठितमध्येको एक विजय हजारे क्रिकेटमार्फत राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका थिए।

उनी अरू कोही होइनन्, २४ वर्षीय मन्जुर अहमद दर हुन्। जो कास्मिरस्थित सिगनपोराका स्थानीय माझ मन्जुर पाण्डवको नामबाट परिचित छन्। टी–२० क्रिकेटका लागि उनको प्रतिभाको मूल्य किंग्स इलेभेन पन्जाबले २० लाख तिरेको छ।
स्वर्गको अनुभूति गराउने अनुपम प्राकृतिक सुन्दरताले सजिएको भए पनि कास्मिर भारतको प्रमुख तनावग्रस्त क्षेत्रमध्येको एक हो। सोही स्थानबाट इन्डियन प्रिमियर लिगमा खेल्ने मन्जुर दोस्रो कस्मिरी बासिन्दा बनेका छन्। ८ भाइ र ४ बहिनी गरी १२ जना दिदीभाइमध्ये जेठो हुन् उनी।

लिलामीपछि पहिलोपटक प्रतिक्रिया दिने क्रममा उनले अब आफ्नो बिरामी आमाको उपचार गराउन सम्भव भएको बताएका थिए। अनि साथै पछिल्लो ३ वर्षयता मर्मतको प्रक्रियामा रहेको घरमा झ्याल र ढोका पनि राख्ने सपना पूरा हुने उनले भनेका थिए। उनको आर्थिक अवस्था कस्तो थियो भनेर यसबाट सजिलै अनुमान लगाउन सकिन्छ। एक सरल व्यक्ति जसले आर्थिक अवस्थाका कारण १२ कक्षापछि पढाइ छोडेर दैनिक ६० रुपियाँको ज्यालादारी काम गर्नुपरेको थियो। दैनिक गुजारा चलाउन त सबैले मेहनत गर्छन्। तर, अहिले उनी भारत जस्तो क्रिकेटको क्रेज भएको देशको प्रिय खेलमा मेहनत गरेर उज्ज्वल भविष्यको पथमा उभिएका छन्। वास्तवमा अहिलेको श्रेय भनेको क्रिकेटमा गरेको उनको मेहनतकै परिणाम हो। उनको मेहनत अगाडि भाग्यले पनि साथ दिन बाध्य भएको छ।

मन्जुरी जस्तै भारतीय क्रिकेटसँग जोडिएका थुप्रै नाम छन्। जसले कष्टकर गरिबीदेखि सम्पन्नतासम्मको यात्रा तय गरेका छन्। अहिले उनीहरू भारतीय क्रिकेटसँग आबद्ध रहेर शानदार जीवनयापन गरिरहेका छन्। तीमध्ये केही चर्चित नाम छन्, जसले कुनै समय गुमनामीको अँध्यारोमा दैनिकी गुजारीसकेका छन्।

यो कुरा धेरै कमैलाई मात्र थाहा होला, भारतीय टिमको स्ट्राइकर बलर उमेश यादवले कुनै समय पेट पाल्नका लागि दैनिक ज्यालादारीमा मजदुरी गर्नुपरेको थियो। उमेशका पिताले एउटा कोइलाखानीमा मजदुरी गरेर दैनिकी चलाउँथे। गरिबीका कारण जसोतसो १२ कक्षाको पढाइ पूरा गरेपश्चात् उमेशले पनि आफ्नै बुबासँग कोइलाखानीमा काम गरेका थिए। यसै गरी भारतीय टिमका अलराउन्डर रवीन्द्र जडेजाको पिता पनि एउटा निजी संस्थामा चौकीदारको रूपमा काम गर्थे। घरको कमजोर आर्थिक स्थितिका कारण जडेजाले पनि चौकीदारकै काम गरेका थिए। भारतीय क्रिकेट टिमका उत्कृष्ट अलराउन्डरमध्येमा पर्दछन् युसुफ पठान र इर्फान पठान। यी दाजुभाइ पनि चरम गरिबीको कष्टबाट गुज्रिसकेका छन्। यिनका पिता एउटा मस्जिदमा रेखदेख र सरसफाइ गरेर परिवारको गुजारा चलाउने गर्दथे। किशोर अवस्थामा यी दाजुभाइले पनि पितालाई साथ दिँदै मस्जिदको सरसफाइको काम अपनाएका थिए।

मनोज तिवारी पनि गरिबीबाट उदाएका अर्का भारतीय क्रिकेटर हुन्। उनको पिता रेल्वे स्टेसनमा काम गर्थे। आर्थिक अवस्था नाजुक भएकै कारण मनोजले पनि पितालाई सघाउन रेलवे स्टेसनका पसलहरूमा ज्यालादारीमा काम गरेका थिए। तर, हिलोमा कमल फक्रेझैं क्रिकेटमा पनि मनोज फक्रेको देखेर उनका दाजु राजकुमारले ऋण काढेर भए पनि उनलाई सहयोग गरेका थिए। जसको प्रतिफल सन् २००५ को रणजी टिममा उनी छनोट हुन सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्