ए मेरो हजुर–२ को मुनाफाबाट सहयोग



व्यापारिक सफलता हासिल गर्न सफल फिल्म ए मेरो हजुर–२ ले मुनाफाको केही रकम सामाजिक सेवामा खर्च गरेको छ।

फिल्मका निर्माता सुनीलकुमार थापाले बेल्जियमबाट उठेकोबाट तराईमा शीतलहरका कारण बिरामी भएकालाई सहयोगस्वरूप बेल्जियमको संस्था क्याट बेल्जियममार्फत ९१ हजार रुपियाँ सहयोग गरेको बताए। त्यसै गरी बेल्जियमकै बुर्गेको शोबाट संकलित ५१ हजार रुपियाँ एभरेस्ट नेपाली समाजमार्फत मृगौला फेल भएर जीवन र मृत्युसँग जुधिरहेकी गायिका जलजला परियारलाई सहयोग गरिएको छ। त्यस्तै अमेरिका निवासी मुकेश सुवेदीले पनि मुकेश सुवेदी फाउन्डेसनमार्फत जलजलाको उपचारका लागि २५ हजार रुपियाँ सहयोग गरेको छ।

निर्माता थापाले आगामी मार्च ४ तारिखका दिन अमेरिकाको भर्जिनियामा ए मेरो हजुर–२ प्रदर्शन गरी संकलित रकमबाट २५ प्रतिशत रकम चितवनको अस्पतालमा ब्लड क्यान्सरबाट पीडित १० वर्षे बालक विवेक आचार्यलाई तथा मार्च १० मा कोलोराडोमा हुने शोको रकम मृगौला फेल भई उपचार गराइरहेका मेकअप आर्टिस्ट इन्द्र लामालाई प्रदान गरिने बताए।

थापाद्वारा निर्मित तथा नायिका झरना थापाद्वारा निर्देशित फिल्मले देशभित्र अत्यन्त राम्रो सफलता प्राप्त गरेसँगै विदेशमा पनि सफलता पाइरहेको छ। यो फिल्म विभिन्न देशमा प्रदर्शन गरी सुनील र झरनाको दम्पती हालै काठमाडौं फर्केका हुन्। ‘देशबाहिर हुने ए मेरो हजुर–२ को शोमार्फत समाजका अति विपन्न एवं सहयोगको खाँचो रहेका व्यक्तिहरुलाई केही अंश दिँदै सहयोगी हात बढाएको हुँ।’ –निर्माता थापाले बिहीबार राजधानीमा अयोजित कार्यक्रममा भने।

प्रतिक्रिया दिनुहोस्