प्रत्यक्ष रेडियो प्रसारणमा प्रसूति



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको एक रेडियो प्रस्तोता केसेडे प्रक्टरले लाइभ सोका क्रममा एक शिशुलाई जन्म दिएकी छिन्। अमेरिकाको सेन्ट लुइसका द आर्क स्टेसनका प्रस्तोताको उक्त कार्यक्रमका लागि विशेष व्यवस्था गरिएको थियो।

सोमबार प्रक्टरलाई प्रसव पीडा शुरू भयो। रेडियो स्टेसनले अस्पतालभित्रै प्रसारणको व्यवस्था गरेको थियो। प्रक्टरले त्यसलाई आफ्ना लागि अद्भूत अनुभव भएको बताइन्। बच्चाको डेलिभरी चिकित्सकले तय गरेको समयभन्दा अगाडि नै भएको थियो। त्यसैले उनलाई अकस्मात कार्यक्रमको तयारी गर्नुपरेको थियो।

प्रक्टर भनिन्– ‘आफनो जीवनको यति मूल्यवान् क्षणलाई स्रोतासँग साझा गर्न पाउनु अद्भूत थियो। यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव थियो।’

बच्चालाई आफूले सधैं गर्दै आइरहेको प्रत्यक्ष प्रसारणको समयमा जन्म दिनु भनेको आफ्नो कामकै विस्तार भएको उनले बताइन्। ‘म आफ्नो जिन्दगीको हरेक घटनालाई आफ्ना स्रोताहरूसँग साझा गर्छु।’ –उनले बताइन्।

प्रक्टरले बच्चाको नाम जेमसन राखेकी छिन्। उक्त नाम पनि स्रोताहरूको राय लिएपछि राखेकी हुन्। बच्चा जन्मनुअगाडि रेडियोमा नामलाई लिएर भोटिङ शुरू भएको थियो। कार्यक्रमका निर्देशक स्कट रेडीले एक अखबारसँगको कुराकानीमा दम्पतीले चयन गरेका १२ वटा नामका लागि आफूहरूले भोटिङ शुरू गरेको जानकारी दिए। जेमसनको जन्मसम्म पनि भोटिङ भइरहेको उनले बताए।

प्रक्टरका सह–प्रस्तोताले उक्त सोलाई चमत्कारपूर्ण र अद्भूत क्षण भएको बताए। प्रक्टर अब केही दिनका लाग प्रसूति बिदाका क्रममा आफ्नो कार्यक्रमबाट टाढा रहनेछिन्।

प्रतिक्रिया दिनुहोस्