राष्ट्रपति निर्वाचन २९ गते



काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो ।

आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

२१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

२३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुर्‍याएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

२९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । त्यही दिन ४ बजेबाट मतगणना सुरु हुनेछ । यदि कुनै उम्मेदवारले निर्वाचक मण्डलको कुल सदस्यको बहुमत प्राप्त नगरे फेरि मतदान गराइने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्