भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल १२२ औँ स्थानमा



नेपाल समाचारपत्र, काठमाडौं । भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल १२२ औँ स्थानमा परेको छ । अघिल्लो वर्षको तुलनामा नेपाल ९ स्थान माथि उक्लिएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार राजधानीमा सार्वजनिक एक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । ट्रान्सपरेन्सीले १८० मुलुकलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सुचकांक सार्वजनिक गरेको हो । प्रतिवेदनमा नेपाल ३१ अंकसहित १२२ औँ स्थानमा देखिन्छ ।

पछिल्लो सूचकांकले नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक रहेको ट्रान्सपरेन्सी नेपालकी महासचिब पद्यिनी प्रधानांगले उक्त कार्याक्रममा प्रेस वक्तव्य जारी गर्दै बताउनुभयो ।

जारी विज्ञप्तीमा भनिएको छ–‘सन् २०१७ मा नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता विषय अझै पनि समस्याको रुपमा विद्यमान रहेको छ ।’

ट्रान्सपरेन्सीले ४० भन्दा कम अंक लाउने मुलुक निकै भ्रष्टाचार हुने भनेर चिनिन्छ । ० अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक पाएमा भ्रष्टाचार नहुने भनेर छुट्याइन्छ । यसको मापन विधि भने राजनीति, वित्तिय अनुशासन, न्यायमा पहुँच लगायतका ६ वटा मापदण्डको आधारमा सबै मुलुकलाई शून्यदेखि १०० सम्म अंक दिईन्छ ।

सबै भन्दा भ्रष्टाचार हुने मुलुकहरुमा अफ्रिकी मुलुकसँगै पूर्वी युरोप र मध्ये एसिया रहेको प्रतिवेदले देखाएको छ । त्यसतै भ्रष्टाचार कम हुने मुलुकमा भने न्युजिल्याण र डेनमार्क परेका छन् । अंकमा हेर्दा न्युजिल्याण्डले ८९ र डेनमार्कले ८८ अंक पाएको छ ।
धेरै भ्रष्टाचार हुने मुलुकमा सोमालियाले ९, दक्षिणी सुडानले १२ र सिरियाले १४ अंक पाएका छन् ।

त्यस्तै सार्क राष्ट्रमा भ्रष्टाचार हुने मुलुकहरुको स्थिति हेर्दा अफगानिस्तान सबैभन्दा भ्रष्ट हुने मुलुक भएको प्रतिवेदनले देखाएको छ । अफगानिस्तानले १५ अंक पाएको छ । त्यस्तै भुटान सार्क राष्ट्रको सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ । भुटान ६७ अंकसहित १६ औं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार कुनै पनि मुलुकले अंकको हिसावमा १०० अंक पाएका छैनन् भने ५० भन्दा कम अंक दुई तिहाइ मुलुकहरुले पाएका छन् । यसको अर्थ भ्रष्टाचार नियन्त्रणका लागि विश्वभर कम प्रयास भएको पाईएको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्