वादी महिलाको नयाँ नेतृत्व चयन



दाङ । दाङको घोराहीमा दुई दिनसम्म चलेको बादी महिला राष्ट्रिय संघर्ष समितिको राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ ।
सुर्खेतकी अनमिका नेपाली वादीको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा कल्पना नेपाली वादी, सचिवमा सरिता नेपाली वादी र कोषाध्यक्षमा कलावती वादी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कमला नेपाली वादी, बिष्णा नेपाली वादी, तुलसा नेपाली वादी, सिर्जना नेपाली वादी, चम्पा नेपाली वादी, सतमा नेपाली वादी र शान्ता नेपाली वादी रहनुभएको छ ।

सम्मेलनले बाबु पहिचान नभएका बालबालिका र यौन पेशामा संलग्न भएका महिलाहरुको अवस्थामा निकै दयनीय रहेको ठहर गर्दै उनीरुको व्यवस्थित पुनःस्र्थापनाको गर्न माग गरेको छ । पाँचौ राष्ट्रिय सम्मेलनपछि घोषणापत्र सार्वजानिक गर्दै अध्यक्ष अनमिका वादीले अझै यौन पेशामा संलग्न भएका वादी महिलाबाट जन्मिएका वालवालिकाको पहिचान नभएकाले तत्काल पहिचान गरी जन्मदर्ता, नागरिकता र शिक्षा दिक्षाको ब्यवस्था गर्न माग गर्नुभयो ।

त्यस्तै वादी समुदायको उत्थानका लागि भएका सहमतिको कार्यन्वयन गरिनुपर्ने माग पनि सम्मेलनले अघि सारेको छ । २०६५ पौष २३ गते नेपाल सरकारले वादी महिलाहरुको पुुनःस्थापनाका लागि निर्णय गरे पनि अझै कार्यन्वयन हुन नसकेको सम्मेलनको ठहर छ ।

वादी समुदायको विकासको लागि समान सहभागिता, राजनीतिक आर्थिक र सामाजिक सहभागिताको सुनिश्चित गरिनुपर्ने, वादी समुदायको कला संरक्षण गरिनुपर्ने, वादी समुदायको व्यवस्थित वस्ती विकास गरिनुपर्ने, निशुल्क शिक्षाको व्यावस्था र परिचय पत्रको आधारमा निशुल्क उपचारको ब्यवस्था गरिनुपर्ने माग सम्मेलनले अघि सारेको छ ।

दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला कुमारी गुप्ता वादीले वर्गीय, जातीय र लैंगिकरुपमा पछाडि पारिएका वादी समुदायको उचित पुनस्र्थापना हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्