सञ्चारमाध्यम र विज्ञापन बजारमा चुनौती



रन्जनचन्द्र अधिकारी

नेपालमा विज्ञापनको शुरूवात कहिले भयो भन्ने बारेमा फरक–फरक धारणा रहे पनि वि.सं. १९१९ मा कृष्ण गिरीको मोक्षसिद्धीमा प्रकाशित विज्ञापनलाई नै पहिलो विज्ञापन मानिएको छ। त्यसको २६ वर्षपछि गोरखा भारत जीवनमा प्रकाशित हास्य मञ्जरीको विज्ञापन दोस्रो मानिएको छ। त्यसपछि १९५० ताका सुधा सागर प्रकाशित भयो र विज्ञापनहरू छापिन थाले।

१९५८ साल वैशाख २४ गतेबाट साप्ताहिकरुपमा गोरखापत्र प्रकाशित हुन थालेपछि भने विज्ञापनको व्यावसायिक युग शुरू भएको मान्न सकिन्छ। १९८४ सालमा गोरखापत्रमा पेट्रोल पम्प खुलेको र हिमालयन मोटर कम्पनीको विज्ञापन छपाइबाट व्यावसायिक विज्ञापनको शुरूवात भयो। सरकारका सार्वजनिक सूचना, सरकारी आदेश र सनदहरू गोरखापत्रले छाप्न थाल्यो। त्यसपछि विज्ञापनलाई पत्रिकाको आम्दानीको स्रोतको रुपमा लिन थालियो।

नेपालको विज्ञापन युगलाई तीन चरणमा बाँड्न सकिन्छ– २००७ सालभन्दा अगाडि, २०४६ सालसम्म र त्यसयता। २००७ सालसम्म विज्ञापनको बजार एकदम सीमित थियो भने प्रजातन्त्र आएपछि मिडिया र विज्ञापनको आकार बढेको पाइन्छ।

२७ चैत्र, २००७ मा रेडियो नेपालको स्थापना भएदेखि त्यसले पनि विज्ञापन बजाउन थाल्यो। सात सालको परिवर्तनपछि राजनीतिक स्वतन्त्रतासँगै सञ्चार संस्थाहरूको विकास भयो। वाक स्वतन्त्रतामा आएको बदलीले सञ्चारमाध्यमहरूको संख्यात्मक वृद्धि भयो, विज्ञापन बजार पनि फैलियो तर औद्योगिकीकरण र व्यवसायहरूको विकास त्यति धेरै भइसकेको थिएन।

सन् १९५७ मा मिडिया कमिसनको स्थापना भएपछि सञ्चारमाध्यम र विज्ञापनलाई व्यवस्थित गर्ने काम हुन थाल्यो। २०१५ सालको आमनिर्वाचनपछि बीपी कोइरालाको सरकारले पत्रिकाहरूलाई चार वर्गमा वर्गीकरण गरेर मासिक २ सय रुपियाँदेखि ६ सय रुपियाँसम्मका सरकारी विज्ञापन, सूचनाहरू उपलब्ध गराउन थालेको पाइन्छ। २०४१ साल माघ १७ मा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा श्रव्यदृश्य विज्ञापनको क्रम शुरू भएको पाइन्छ। त्यसभन्दा पहिले चलचित्र हलहरूमा देखाइने विज्ञापन र दूरदर्शनमा रामायण, महाभारत प्रसारण हुने समयमा आउने विज्ञापन नेपालीहरूले हेर्ने गर्दथे।

२०४६ सालको जनआन्दोलनपछि नेपालमा बहुदल आएर खुलापन बढेपछि त्यसको पहिलो प्रभाव निजी सञ्चारमाध्यमको विकासमा पर्यो। त्यो भन्दा अघि रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, राइजिड. नेपाल, राष्ट्रिय संमाचार समिति मात्र बढी प्रभावी थिए भने निजीस्तरमा केही साप्ताहिक पत्रिकाहरू निस्केको पाइन्छ।
२०४८ सालमा आमनिर्वाचन भयो र त्यसबाट गठन भएको संसद्ले छापाखाना तथा पत्रपत्रिकासम्बन्धी ऐन २०४९ पारित गर्यो। त्यो ऐनले निजी सञ्चारमाध्यमहरूको स्थापना र सञ्चालन ग्यारेन्टी गर्यो र धमाधम निजी सञ्चारमाध्यमहरू खुल्न थाले।

सर्वोच्च अदालतले हालै गरेको समानुपातिक विज्ञापन प्रणालीसम्बन्धी आदेशलाई समेत मध्यनजर गर्दा विज्ञापन बजारको अबको अवस्था कस्तो हुन्छ भन्न गाह्रो छ। सरकारी विज्ञापनमा केही सञ्चारमाध्यमहरूको मात्र एकाधिकार रहेको अहिलेको अवस्था तोडिँदा विज्ञापन बजारको गुणात्मक विकास कसरी होला? त्यो कुरा कार्यान्वयनमै भर पर्नेछ।

 

मैले २०५३ सालमा मिडिया मार्केटिङको करियर शुरू गर्दासम्म धेरै सञ्चारमाध्यमहरू खुलिसकेका थिए। तर त्यो बेलासम्म विज्ञापन बजार निकै साँघुरो र सीमित दायरामा थियो। सरकारी सञ्चारमाध्यमहरूले सरकारी विज्ञापन छाप्थे र बजाउँथे। निजी क्षेत्रका सञ्चारमाध्यमले विज्ञापन पाउनु, छाप्नु र बजाउन पाउनु कठिन थियो। त्यही क्रममा सरकारी सञ्चारमाध्यमहरूले पाउँदै आएका विज्ञापन निजी सञ्चारमाध्यमहरूले तान्न थाले।

नेपाल टेलिभिजनको समय किनेर निजी कम्पनीहरूले सूचना र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्न थाले। त्यसै गरी रेडियो नेपालको १०० मेगाहर्जको एफएम प्रसारणको समय किनेर एफएम प्रसारणको क्रम पनि शुरू भयो। ती सञ्चारमाध्यमहरूको खर्च धान्ने बाटो विज्ञापनको आम्दानी हुन थाल्यो।

म सम्बद्ध ईमेज च्यानलले नेपाल टेलिभिजनबाट बिहानी डेढ घन्टा समय किनेर सूचना र मनोरञ्जन कार्यक्रम सञ्चालन गर्दथ्यो। नेपाल टेलिभिजनले ‘कमर्सियल्ली अनभाएवल’ भनेको समय सदुपयोग गरेर ईमेज च्यानलले मनोरञ्जनात्मक कार्यक्रमको साथमा विज्ञापन बजार विस्तारमा ध्यान दियो। तर त्यो बेला विज्ञापनसम्बन्धी काम निकै चुनौतीपूर्ण थियो। विज्ञापन माग्न जाँदा विज्ञापनदाताबाट सित्तैमा अथवा चन्दा दिनुपरेको जस्तो व्यवहार हुन्थ्यो। व्यवसायीहरूलाई विज्ञापनले कसरी व्यवसायको विकासमा सहयोग पुग्छ भनेर बुझाउनै कठिन हुन्थ्यो।

व्यवसाय विस्तारसँगैै विज्ञापनदाताहरूको व्यवहारमा परिवर्तन हुन थाल्यो। एकपछि अर्को गर्दै खुलेका निजी क्षेत्रका प्रतिष्ठानहरूले आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि देखिन आफैं विज्ञापन बनाउन थाले। कम्पनी स्थापना गर्दा नै विज्ञापनका लागि बजेट छुट्याउने जस्ता सकारात्मक अभ्यासहरू हुन थाले। मिडियाहले आफ्नो स्थान जमाउन थाले। मिडिया र विज्ञापनको ठूलो क्रेज देखिन थाल्यो। रंगिन कलेवरका ठूला पत्रिकाहरूले विज्ञापनका नयाँ आयामहरू पस्कन थाले। ब्रोड सिटका दैनिकहरूले विज्ञापन बजारमा चमक ल्याउने ‘ज्याकेट एड’ छाप्ने शैली अपनाए। रेडियो, टेलिभिजनहरूमा एउटै विज्ञापनमा विभिन्न जाति–भाषीको पहिरन र भाषाहरू समेटेका विज्ञापनहरू प्रसारण हुन थाले।

२०५९ सालको शाही कदम, माओवादी द्वन्द्व र विद्युत् संकटका कारणले उद्योगधन्दाहरू बन्द हुन थाले। आन्दोलन, बन्द र मजदुर समस्याले धेरै उद्योगहरू प्रभावित भए। स्वाभाविकरुपमा मिडिया उद्योग र विज्ञापन व्यवसायमा फेरि समस्या देखियो। मिडियाहरूमा लामो समयसम्मका लागि विज्ञापन प्रकाशन र प्रसारणको सम्झौता गरेका विज्ञापनदाताहरूले पनि बीचमै सम्झौता भंग गर्न थाले।
२०६२, ०६३ को जनआन्दोलनको सफलता र माओवादीसँग शान्ति सम्झौता भएपछि फेरि उद्योग व्यवसाय सञ्चालनमा तीव्रता आउन थाल्यो। नयाँ लगानीका व्यवसायहरू शुरू भए। त्यससँगै निजी क्षेत्रका टेलिभिजन, एफएम रेडियो, नयाँ क्षेत्र अनलाइन पोर्टलहरू खुल्न थालेको पाइन्छ। २०६० सालतिर निजी टेलिभिजन च्यानलहरू खुले। २०६० असार २९ गते ईमेज च्यानलको आफ्नै प्रसारण स्टेसन स्थापना भयो भने कान्तिपुर टेलिभिजनले पनि प्रसारण शुरू गर्यो। त्यो भन्दा अगाडि च्यानल नेपाल टेलिभिजनको प्रसारण भइसकेको थियो। यी टेलिभिजनहरूले छिटो समाचार प्रवाह, मनोरञ्जनात्मक कार्यक्रमहरू र श्रव्यदृश्य मिडिया मार्केटिङलाई अरू तीव्र पारे।

अहिले नेपालमा ९६३ भन्दा बढी संख्यामा एफ रेडियो, सेटेलाइट र केबल गरी १५३ भन्दा बढी टेलिभिजनहरू, १० वटा डिजिटल केबल टेलिभिजन (एमओएस) ९७७ अनलाइन पोर्टल र ९०० भन्दा बढी पत्रपत्रिका सञ्चालनमा रहेको सरकारी तथ्यांक छ। अर्को तथ्यांकअन्ुुसार अहिले जनसंख्याको ७२ प्रतिशत घरमा टेलिभिजन सेट, ५२ प्रतिशत घरमा रेडियो सेट, ९८ प्रतिशत घरधुरीमा मोबाइल सेट पुगेको छ।

नेपालमा ५ सयभन्दा बढी विज्ञापन एजेन्सीहरू क्रियाशील छन् र ती मध्येका ३२० कम्पनी नेपाल विज्ञापन संघमा दर्ता भएको देखिन्छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा एटीएल र बीटीएल गरी वार्षिक ६ अर्ब रुपियाँको विज्ञापन बजार छ। पछिल्लो अवधिमा विज्ञापन कारोबारको २० प्रतिशत हाराहारी अनलाइनलगायतका डिजिटल माध्यमले प्रवाह गर्न थालेको अनुमान गरिएको छ। उच्च गतिको इन्टरनेट र विभिन्न एप्लिकेसन्ससहितका मोबाइल सेटका कारणले अहिले आएर विज्ञापन बजार पूर्ण डिजिटलाइज्ड भइसकेको छ। पत्रपत्रिकामा विज्ञापन छाप्नु, टेलिभिजनमा देखाउनु, रेडियोमा प्रसारण गर्नु पुरानो शैली बन्दै छ। अनलाइन र सामाजिक सञ्जालमा विज्ञापन झन् प्रभावकारी भएर गएको छ। छापा, टेलिभिजन र एफएमहरूले नयाँ युगमा अभ्यस्त हुन आफ्नै अनलाइन पोर्टल सञ्चालन शुरू गरका छन् र विभिन्न एप्लिकेसन्सहरू बनाएका छन्, सामाजिक सञ्जालका पेजहरू बनाएर समाचार प्रवाहको नयाँ शैली अपनाएका छन्।

अहिले अनलाइन र सोसल मिडियाले सञ्चारको नयाँ परिभाषा दिइसकेको अवस्थामा विज्ञापनको स्वरुप पनि त्यही रुपमा बदलिनुपरेको छ। फेसबुक, ट्विटरजस्ता विश्वव्यापी सञ्जालहरूले ठूलो आय विज्ञापनबाटै जुटाउने गर्दा नेपालमा पनि त्यसको क्रेज बढ्दो छ। क्लिन फिड विज्ञापन नीतिको अवलम्बन कसरी हुन्छ भन्ने कुराले अबको नेपाली विज्ञापन बजारलाई धेरै प्रभावित पार्ने देखिन्छ। खासगरी भारतीय टेलिभिजनहरूको प्रभाव रहेको नेपालको टेलिभिजन बजारमा क्लिन फिडको व्यवस्था कसरी लागू गर्ने भन्ने चुनौतीको विषय छ। क्लिन फिड लागू गर्न सरकारको दह्रो अठोट र कार्यान्वयनमा कडाइ आवश्यक छ र यो भएमा नेपाली विज्ञापन बजारकै कायापलट हुनसक्छ।

दिनदिनै आविष्कार भइरहेका सञ्चार प्रविधिलाई पछ्याउँदै नेपाली सञ्चारमाध्यम र विज्ञापन व्यवसाय कसरी अगाडि बढ्न सक्छ भन्ने प्रश्न पनि उत्तिकै ज्वलन्त भएर आएको छ। त्यससँगै एचडी लगायतका अत्याधुनिक प्रविधिका लागि लगानी बढाउनुपर्ने र विश्वव्यापी कभरेजको चुनौतीलाई पनि नेपाली मिडिया र विज्ञापन बजारले सामना गर्नुपर्नेछ। देश संघीय प्रणालीमा गइसकेको अवस्थामा अब मिडिया र विज्ञापन बजारको पुनर्संरचना पनि सोही अनुसार हुनुपर्ने आवश्यकता उत्तिकै देखिएकोे छ। यसले राजधानी केन्द्रित ठूला सञ्चारमाध्यम खासगरी टेलिभिजन र ठूला छापाहरूलाई चुनौती थपिएको छ। केही छापाहरूले प्रादेशिक संस्करण शुरू गरेका भए पनि स्थानीय विषयवस्तुलाई बढी प्राथमिकता दिनुपर्ने र विज्ञापन बजारलाई पनि सोही बमोजिम व्यवस्थित गर्नुपर्ने आवश्यकता छ।

अन्त्यमा, सर्वोच्च अदालतले हालै गरेको समानुपातिक विज्ञापन प्रणालीसम्बन्धी आदेशलाई समेत मध्यनजर गर्दा विज्ञापन बजारको अबको अवस्था कस्तो हुन्छ भन्न गाह्रो छ। सरकारी विज्ञापनमा केही सञ्चारमाध्यमहरूको मात्र एकाधिकार रहेको अहिलेको अवस्था तोडिँदा विज्ञापन बजारको गुणात्मक विकास कसरी होला? त्यो कुरा कार्यान्वयनमै भर पर्नेछ।

(लेखक अधिकारी २०५३ सालदेखि नेपालको विज्ञापन बजारमा संलग्न रहँदै आउनुभएको छ।)

 

प्रतिक्रिया दिनुहोस्