बार्सिलोना र चेल्सीले खेले बराबरी



लन्डन, (एजेन्सी)
यूएफा च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस टोली बार्सिलोना र इंग्लिस च्याम्पियन चेल्सीले १–१ गोलको बराबरी खेलेका छन्।

घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा विलियनले गोल गर्दै चेल्सीलाई शुरुआती अग्रता दिलाएका थिए। खेलको ६२औं मिनेटमा एडेन हजार्डको पासमा विलियनले उक्त गोल गरेका थिए। तर उक्त अग्रता १२ मिनेटसम्म मात्र टिकेको थियो। खेलको ७५औं मिनेटमा आन्द्रेस इनेस्टाले सृजना गरेको अवसरलाई लियोनल मेसीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि खेलमा दुवै टोलीले थप गोल गर्न सकेन र खेल बराबरीमा टुंगियो। चेल्सीका विलियनले पहिलो हाफमा गरेको दुई प्रहार गोलपोस्टमा लाग्नु नै घरेलु टोली बराबरीमा चित्त बुझाउन बाध्य बनेको थियो।

यस्तै जर्मन क्लब बायर्न म्युनिखले १० खेलाडीमा खुम्चिएर खेलको अन्त्य गरेको टर्किस क्लब बेसिक्टासलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ। घरेलु मैदान एलिएन्ज एरेनामा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले दुई–दुई गोल गरेपछि बायर्न म्युनिखले फराकिलो गोल अन्तरको जित आत्मसात गरेको हो।

डोमागोज भिदाले खेलको १६औं मिनेटमा रातो कार्ड बेहोरेपछि बेसिक्टास १० खेलाडीमा सीमित भएको थियो। मुलरले खेलको ४१औं मिनेटमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा अग्रता दिलाएका थिए। बायर्नका लागि खेलको ५३औं मिनेटमा कोमनले दोस्रो गोल गरे। यसैगरी मुलरले खेलको ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने लेवान्डोस्कीले ७९औं र ८८औं मिनेटमा गोल गर्दै बायर्नलाई ५–० को सानदार जित दिलाउन सफल भए।

प्रतिक्रिया दिनुहोस्