लयमा फर्कियो त्रिभुवन आर्मी



नेपाल समाचारपत्र
हेटौंडा
गत साता नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको विभागीय टोली त्रिभुवन आर्मीले क्लबले आफू पुनः लयमा फर्केको संकेत गरेको छ।

हेटौंडामा बुधबार चिरप्रतिद्वन्द्वी मनाङलाई हराएपछि आर्मीले यसको थप पुष्टि गरेको गरेको हो। आर्मी टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि नजिक पुगेको छ। बुधबारको सेमिफाइनलमा पहिलो संस्करण विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो। गत वर्ष फाइनलमा आर्मीले मनाङ मस्र्याङ्दीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको थियो। क्वार्टरफाइलमा सुदूरपश्चिम–११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै त्रिभुवन आर्मी र एपीएफलाई १–० ले पराजित गर्दै मनाङ सेमिफाइल प्रवेश गरेका हुन्।

आर्मीले शनिबार फाइनलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आर्मीका फरवार्ड जर्जप्रिन्स कार्कीले निर्णायक गोल गरेका थिए। उनले अन्तिम मिनेटमा गरेको गोल नै जितको आधार भयो। उनले मनाङका डिफेन्डरहरूले क्लियर गर्न नसकेको बललाई सटिक प्रहार गर्दै गोलमा परिणत गरेका थिए। निर्णायक गोलकर्ता कार्की खेलको दोस्रो हाफमा मैदान छिरेका थिए। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा मनाङभन्दा आर्मी बलियो देखियो। आर्मीका नवयुग श्रेष्ठ र भरत खवासले केही सुनौला मौका गुमाए। तर, दोस्रो हाफमा आर्मी र मनाङको खेल प्रतिस्पर्धात्मक बन्यो। आर्मी तथा मनाङका खेलाडीले गोल गर्ने धेरै प्रयास गरे पनि सफल भएनन्। खेलमा आर्मीका डिफेन्डर विमल पाण्डे म्यान अफ द म्याच भए।

खेलपश्चात् आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीको मेहनतका कारण जित सम्भव भएको बताए। ‘हामीले बनाएको योजनाअनुसार खेलाडी मैदानमा उत्रिए। जसले नतिजा हाम्रो पक्षमा आयो।’ –उनले थपे। पोस्टम्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले सहभागिता जनाएनन्।

प्रतिक्रिया दिनुहोस्