पुनर्निर्माणबारे जानकारी दिन सफ्टवेयर



 

काठमाडौं, (नेस)
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसँग सम्बन्धित सम्पूर्ण सूचना एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले ‘बृहत् प्रोजेक्ट मनिटरिङ इन्फरमेसन सिस्टम’ (पीएमआईएस) शुरू गरेको छ।
अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा प्राधिकरणले वेबमा आधारित एप्लिकेसन सफ्टवेयर सार्वजनिक गरेको हो। उक्त प्रणाली तयार गर्न एसियाली विकास बैंकले आर्थिक सहयोग गरेको छ।

बुधबार उक्त सफ्टवेयरको शुभारम्भ गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनर्निर्माण कार्यमा भइरहेको प्रगतिको अवस्था, आर्थिक विवरणलगायत सबै सूचनाहरू एप्लिकेसनमार्फत प्राप्त हुने बताउनुभयो। उहाँले भन्नुभयो– ‘यसले पुनर्निर्माणसँग सम्बन्धित आर्थिक तथा निर्माणका हरेक गतिविधिलाई बृहत् रूपमा समेटेको छ। पुनर्निर्माणको कामलाई पारदर्शी, जवाफदेही र सुशासनयुक्त बनाउन यो प्रणालीले सहयोग गर्ने अपेक्षा हामीले गरेका छौं।’

पुनर्निर्माण भइरहेका प्रत्येक क्षेत्रबाट त्यहाँ भइरहेको कार्यप्रगति विवरण, आर्थिक लेखाजोखा र देखिएका समस्यालाई समेत एप्लिकेसनमा राखिनेछ। प्राधिकरणबाट खटिएका कर्मचारी, पुनर्निर्माणसँग सम्बन्धित काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले निर्माण क्षेत्रको वास्तविक अवस्थाका बारेमा सूचना ‘अपलोड’ गर्नेछन्। यसरी प्राप्त सूचनालाई एकै ठाउँमा राखी प्राधिकरणले कुन ठाउँमा कस्तो खालको आवश्यकता छ र समस्या रहेको छ भन्ने कुरा पहिचान गर्नेछ। भुसालका अनुसार भूकम्प प्रभावित ३२ जिल्लाका विभिन्न ठाउँमा खटिएका फिल्ड अफिसरले उनीहरूको कार्यक्षेत्रभित्र पर्ने पुनर्निर्माणका गतिविधिका बारेमा जानकारी अपलोड गर्नेछन्। यसरी प्राप्त सूचना केन्द्रीय प्रणालीमा आए पनि कुन क्षेत्रमा पुनर्निर्माणको अवस्था के कस्तो छ भनेर सजिलै थाहा पाउन सकिनेछ। सोही सूचनाका आधारमा प्राधिकरणले अनुगमन गरेर सम्बन्धित ठाउँमा आवश्यक सुधार गरिने सीईओ भुसालले बताउनुभयो।

उक्त एप्लिकेसनमा ३२वटै जिल्लाका सरकारी भवन, निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, पुरातावक सम्पदालगायत सबै किसिमका संरचनामा भइरहेको पुनर्निर्माणसम्बन्धी तथ्यांक राखिनेछ। यस प्रणालीमार्फत पुनर्निर्माणमा विनियोजन गरिएको खर्चको सदुपयोग कसरी भइरहेको छ र कार्य प्रगतिको अवस्था के कस्तो छ भन्ने कुराको सजिलै जानकारी लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्