सीमा स्तम्भ सुरक्षाको जिम्मा सेनालाई ः प्रधानमन्त्री



नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण सीमा स्तम्भहरूको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने तयारी थालिएको बताउनुभएको छ। बुधबार चन्द्रागिरी नगरपालिका–१ दहचोक इन्द्रदहस्थित कालु पाँडेको समाधीस्थलमा माल्यार्पण र भ्युटावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका विषयको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने बताउनुभएको हो।

उहाँले ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हुन त मलाई पनि देउवाजीले भत्ता खाने बनाइदिनुभयो अलि बेला भएको थिएन कि ? होइन र।’ सो अवसरमा प्रधानमन्त्री ओलीले १ सय ६४ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो। काठमाडौं चन्द्रागिरीनगरपालिका कालु पाँडे समाधीस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो।

कालु पाँडे समाधीस्थललाई धार्मिक र पर्यटकीयस्थलका रूपमा दीर्घकालीन विकास गर्न आफू लागिपरेको विचार व्यक्त गर्नुभयो। २०७३ फागुन ९ गते इन्द्रदह पर्यटकीयस्थलको अवलोकन गर्दा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हरेक वर्ष यस स्थलको अवलोकन गर्ने प्रतिबद्धता जनाउनुभयो। आफ्नो हरेक पाइलामा विकास र समृद्धि जोडिएको भन्दै आफू क्षणिक स्वार्थका लागि प्रधानमन्त्री नभएको बताउनुभयो।

इन्द्रदह चोकमा राज्य एकीकरणको बेला सामरिक महत्वको नेपाली सेनाका ७ वटा गढी रहेका छन्। कालु पाँडेको समाधीस्थल निर्माणका लागि पुरातत्व विभागले ८० लाख रुपियाँ छुट्याएको छ। यस्तै सो क्षेत्रमा भ्यु टावर निर्माणका लागि चन्द्रागिरी नगरपालिका १ ले ३० लाख रुपियाँ बजेट बिनियोजना गरेको दोस्रो इन्द्रदह उत्सवका संयोजक हरिशरण थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्