जिल्ला सभापतिबाट अमात्यलाई हटाउन काँग्रेस नेता कार्यकताको माग



नेपाल समाचारपत्र, ललितपुर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यलाई जिल्ला सभापतिबाट हटाउन काँग्रेसका नेता र कार्यकताहरुले माग गरेका छन् ।
पार्टीको विधान उल्लंघन गर्दै न्यूनतम राजनीतिक संस्कार समेत प्रदर्शन नगरेको भन्दै जिल्लाका करिब तीन सय जना नेता र कार्यकताहरुको हस्ताक्षरसहित सो माग गरिएको हो । उनीहरुले यस्तो माग गरिएको पत्र पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मा मार्फत केन्द्रीय समिति समक्ष बुझाएका थिए ।
सो पत्रमा सभापति अमात्यले लोकतान्त्रिक मूल्यमान्यतालाई बेवास्ता गरेर काँग्रेसको जिल्ला संगठनलाई ध्वस्त पारेको पनि आरोप लगाइएको छ । यस्तो माग गर्नेहरुमा पूर्वमन्त्री ओमकार श्रेष्ठ, पूर्व सभासद् एवं महासमिति सदस्य रामकृष्ण चित्रकार, महासमिति सदस्यहरु प्रमोद शर्मा, जितेन्द्र श्रेष्ठ, नगर सभापति राजेश महर्जन, क्षेत्रीय अध्यक्ष महेश खड्का, महेश्वर थापा, जिल्ला सदस्य माधव खड्का लगायत रहनुभएको छ ।
नेपाली काँग्रेसको विधानको धारा ४३ र नियमावली दफा ४२ को उपदफा (६) बमोजिम अमात्यलाई तत्काल सभापतिबाट हटाउन पत्रमा उल्लेख गरिएको छ । ‘भष्मासुर प्रवृतिका सभापति अमात्यलाई तुरुन्त अनुशासनको कारवाही गरी सभापतिबाट हटाउनु ।’ पत्रमा भनिएको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाको तीन वटै क्षेत्रमा काँग्रेसले हार व्यहोर्नुपरेको थियो ।त्यस लगतै सभापति अमात्यले विभिन्न नेता र कार्यकर्तालाई अन्र्तघात गरेको आरोप लगाउनुभएको थियो । त्यसपछि अनुशासन समितिले ती नेता र कार्यकताहरुलाई कारवाहीको सिफारिश गरेको थियो ।
हारको जिम्मेवारी लिनुको साटो आफ्नो अहं, , अक्षमता लुकाउन पार्टीप्रति इमान्दार, जेलनेल भोगेका कार्यकताहरुलाई कसैसंग सामान्य स्पष्टिकरण समेत नलिएर अनुशासन समितिको नाउँमा विपक्षीहरुको राजनीतिक हैसियत समाप्त पार्न सभापति उधत रहेको पनि पत्रमा भनिएको छ ।
सभापति अमात्यले आफूलाई सभापतिबाट हटाउन माग गर्दै नेता र कार्यकताहरु पार्टी केन्द्रीय कार्यालय जानु केटाकटीको खेल जस्तो अपरिपक्व कार्यको संज्ञा दिनुभयो । ‘यो त अराजनीतिक मूर्खतापूर्ण कार्य हो । ’ सभापति अमात्यले भन्नुभयो ।
‘प्रतिनिधिसभाको निर्वाचनमा आपूm हारेको नभई काँग्रेसकै केही नेता र कार्यकताले हराएको दाबी गर्दै उहाँले भन्नुभयो ‘मलाई हराउन को को लागे, के कस्तो पर्चा छाप्यो यसको दर्जनौ प्रमाण म संग छ । तिनिहरुलाई अनुशासन समितिले कारवाहीको सिफारिश गरेपछि बदला लिन यिनीहरुले यस्तो कदम चालेका हुन् ।’
निर्वाचन भएको ५५ वर्षको इतिहासमा जिल्लाको तीन वटै सीटमा काँग्रेसका उम्मेदवार जिताउन आफूले निर्वाह गरेको भूमिका नै आफ्नो विरोध गर्नेहरुलाई गतिलो जवाफ रहेको पनि उहाँको कथन रहेको छ ।
स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभामा पनि विधिसम्मत नै उम्मेदवार छनौट गरिएको पनि उहाँको जिकिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्