ओली नेतृत्वको सरकारमा माओवादी सहभागी नहुने



काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्र आज सहभागी नहुने भएको छ। आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार पर्याप्त गृहकार्य नपुगेको भन्दै भोलिका लागि सारिएको हो। मन्त्रिमण्डलमा सहभागी हुने आकांक्षीको संख्या धेरै भएपछि त्यसलाई व्यवस्थापन गर्न शीर्ष नेतृत्वलाई कठिन परेको छ। यसका साथै वाम गठबन्धनका प्रमुख दुई नेताले मन्त्रिमण्डलको संख्याबारे समेत सहमति जुटाउन सकेका छैनन्।

मन्त्रालय बाँडफाँट र सरकार विस्तारका लागि आज बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले ठोस निष्कर्ष निकाल्न नसकेको बताइएको छ । एकै पटक सरकारलाई पूर्णता दिने वा तत्कालका लागि केही सदस्य थपेर मन्त्रिमण्डल विस्तार गर्ने भन्ने विषयमा दुवै नेताबीच छलफल भएको थियो।

थप छलफल गरेपछि मात्र माओवादीले मन्त्रीहरुको टुंगो लगाउने छ। माओवादीका एक नेताका अनुसार, मन्त्रालयको संख्या, त्यसको स्वरुप र नामकरण नभएको अवस्थामा तत्काल मन्त्रिपरिषद् विस्तार गर्न समस्या देखिएको हो। वाम गठबन्धनका शीर्ष नेता राजकीय पदको प्याकेजमै डिल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्।

मन्त्रिमण्डलको विस्तार भोलि हुने सम्भावना रहेको नेताले जानकारी दिएका छन । यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले आजै सरकार विस्तार हुनसक्ने भन्दै तयारी अवस्थामा रहन नेता रामबहादुर थापा र मातृका यादवलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्