डिपिएलका ४ खेलाडी सबैभन्दा महँगा



काठमाडौं । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको अक्सन (बोलकबोल) मा ४ खेलाडी सबैभन्दा महँगा बनेका छन्। बुधबार भइरहेको अक्सनमा पहिलो चरणमा ए श्रेणीका खेलाडीको अक्सन सकिदा १६ मध्ये ११ खेलाडी बिकेका छन्। ए श्रेणीका ५ खेलाडीलाई कसैले चासो नदेखाउँदा ४ खेलाडी महँगा बनेका हुन्।

ए श्रेणीको उच्चतम मूल्य १ लाख ५० हजार राखिएको थियो। पहिलो चरणमा ए श्रेणीका खेलाडीको अक्सन सकिएकाले चार खेलाडी महँगा हुने पक्का भएको हो।

महँगा खेलाडीमा अलराउन्डर सागर पुन, तीव्र गतिका बलर करण केसी, स्पिनर बसन्त रेग्मी र अलराउन्डर मोहम्मद आरिफ शेख छन्। सागर पुनलाई विराटनगर किंग्सले १ लाख ५० हजार रुपैयाँमा आवद्ध गरेको हो। यस्तै करण महेन्द्रनगर युनाइटेडमा १ लाख ५० हजारमै आवद्ध भएका हुन्। करणलाई आवद्ध गर्न सवै टिमले चासो देखाएपछि लक्की ड्रमा महेन्द्रनगरले बाजी मारेको हो।

बसन्त रेग्मीलाई आवद्ध गर्न पनि लक्की ड्र गरिएको थियो। लक्की ड्रमा विराटनगर किंग्सले बाजी मार्दै १ लाख ५० हजारमा आवद्ध गर्न सफल भयो। यता अर्का ए श्रेणीका खेलाडी मोहम्मद आरिफ शेख महेन्द्रनगरमा आवद्ध भएका छन्। उनलाई महेन्द्रनगरले १ लाख ५० हजारमा भित्राएको हो।

यता पृथु बाँस्कोटा १ लाख २० हजार रुपैयाँमा विराटनगरमा आवद्ध हुँदा नरेश बुढाऐर पनि १ लाख २० हजारमै काठमाडौं गोल्डेन्समा भित्रिएका छन्। यसैगरी जितेन्द्र मुखिया रुपन्देही च्यालेन्जर्समा ९० हजारमा भित्रिएका छन्। प्रदीप ऐरी रुपेन्देही, सुवास खकुरेल सिवाइसी अत्तरिया, अभिनास कर्ण महेन्द्रनगर र राजेश पुलामीमगर टिम चौराह धनगढीमा आवद्ध भएका छन्। चारै जना ८०–८० हजार रुपैयाँमा आवद्ध भएका हुन्।

ए श्रेणीका पाँच खेलाडी भने पहिलो चरणमा बिकेनन्। पहिलो चरणमा नबिक्ने ए श्रेणीका खेलाडीमा अलराउन्डर मेहबुब अलाम, अफस्पिनर सञ्जम रेग्मी, अलराउन्डर मञ्जित श्रेष्ठ, स्पिनर राहुल विक र तीव्र गतिका बलर चन्द्र सावद छन्।

जारी अक्सनको अन्त्यमा कुनै टिमले राख्न चाहेमा यी खेलाडीले डिपिएल खेल्ने सम्भावना अझै बाँकी छ।

विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एक जना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ।

धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने छ।

रणनीतिक खेलाडी भने यसअघि नै घोषणा भइसकेको छ। महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन्। त्यस्तै, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन्।

उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्