जनताको करोडौं लगानी रहेका दर्जन कम्पनीको अत्तोपत्तो छैन



रोविन पौडेल, काठमाडौं

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १५ वटा कम्पनी अझै नेप्सेसँग सम्पर्कविहीन रहेका छन्। नेप्सेले पटक–पटक सम्पर्कमा आउनपत्र काटे पनि ती कम्पनी सम्पर्कमा नआउनुले उनीहरूको अस्तित्वमै प्रश्न उठेको हो।

नेप्सेले करिब २ महिनाअघि सम्पर्कमा नआएका ३४ वटा कम्पनीलाई सम्पर्कमा आई नेप्सेमा तिर्न बाँकी शूल्क तिरी तथा साधारणसभाबारे जानकारी गराई कारोबार शुरू गर्न पत्रचार गरेयता १२ कम्पनीको मात्र लिखित जवाफ आएको हो। यसअघि नेप्सेमा सूचिकृत भइ कारोबार बन्द भएका ४१ मध्ये ३४ वटा कम्पनीलाई नेप्सेले पत्र काटेको थियो। नेप्से प्रवक्ता मुराहरी पराजुलीका अनुसार अझै सम्पर्कमा नआएका १५ कम्पनीको बारेमा नेप्सेले ती कम्पनी अस्तित्वमा नरहेको मानसिकता बनाएको छ। उहाँले भन्नुभयो– ‘वषौंदेखि सम्पर्कमा नहुनुले उनीहरूको आर्थिक कारोबार तथा वित्तीय गतिविधि नै ठप्प भएको हामीले बुझेका छौं।’ कारोबार बन्द हुनेमध्ये १६ कम्पनी नेप्सेको सम्पर्कमा आए पनि उनीको साधारणसभा, मर्जर÷एक्विजिसन प्रक्रिया तथा शूल्कबारे चुप बस्दै आएका थिए।

जानकारी गराउने १२ कम्पनीमा वित्त समूहका ५, एक्विजिसन÷मर्जरमा रहेका ४ तथा बीमा, ट्रेडिङ तथा अन्य समूहका १÷१ कम्पनी रहेका छन्। जानकारी गराउने कम्पनीमध्ये अधिकांशले आफू समस्यामा रहेकाले चाँडै साधारसभा गर्ने जानकारी गराएको नेप्सेले जनाएको छ। जानकारी गराउनेमध्ये वित्त समूहका ५ कम्पनीले आफू राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको अवस्थामा नाजुक अवस्थामा रहेको दाबी गरेका छन्। नेप्से प्रवक्ता पराजुलीका अनुसार राष्ट्र बैंकले समस्याग्रस्त भने पनि क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले आफू नयाँ सञ्चालक समिति तथा व्यवस्थापनसहित पुनः कारोबारमा आउने जानकारी दिएको छ। प्रवक्ता पराजुलीका अनुसार कम्पनीले नेप्सेमा सूचीकृत भएयता आव २०६८÷६९ दखि साधारणसभा गरेको छैन भने नेप्सेमा सूचीकृत भएको वार्षिक शूल्क पनि बुझाएको छैन।

त्यसैगरी नेपाल शेयर मार्केटस्, ललितपुर फाइनान्स, नेपाल फाइनान्स तथा वल्र्ड मर्चेन्ट बैंकले आफ्नो साधारणसभा मिति चाँडै तोक्ने जानकारी गराए। तीमध्ये नेपाल फाइनान्सको साधारणसभा आव २०६७÷६८ यता भएको थिएन भने अन्यले आव २०७१÷७२ यता साधारणसभा गर्न सकेका थिएनन्।

त्यसैगरी नेपाल फिल्म डेभलपमेन्ट कम्पनीले पनि विविध कारणबस साधारणसभा गर्न नसकेको जानकारी गराएको प्रवक्ता पराजुलीले बताउनुभयो। ट्रेडिङतर्फ विशाल बजार कम्पनी तथा बीमातर्फ राष्ट्रिय बीमा कम्पनीले पनि साधारसभा गर्न नसकेको लिखित कारण नेप्सेमा बुझाएका छन्। नेप्सेका अनुसार बेस्ट फाइनान्स र सिनर्जी फाइनान्स एक्विजिसनको तथा मेगा बैंक नेपाल र टुरिजम डेभलपमेन्ट बैंक मर्जरको क्रममा गएको जानकारी नेप्सेमा आएको छ।

दुई महिनाअघि नेपाल स्टक एक्सचेन्जले नेप्सेमा सूचीकृत भई सम्पर्कमा नआउने ३४ कम्पनीलाई पत्र काटेको थियो। लामो समयदेखि कारोबारमा रोकिएका ती कम्पनीलाई नेप्से के कारणले यस्तो समस्या भएको भनी स्पष्ट पार्न भनी परिपत्र गरेको थियो। पत्रमा ती कम्पनीले समयमै सूचना नपठाए कारोबार सधैंको लागि बन्द गर्नेसम्मको कारबाही गरिने जानकारी गराइएको थियो। हाल नेप्सेसँग सम्पर्कविहीन हुने सूचीकृत भएका कम्पनीमध्ये नेप्सेमा बुझाउनुपर्ने शुल्क नतिर्ने कम्पनीको संख्या १९ रहेको छ भने १२ कम्पनीको साधारसभा कहिले भएको हो भन्ने जानकारी नेप्सेसँग छैन।

यता यस्ता कम्पनीलाई कारबाही बन्द गर्नुको कुनै विकल्प नभएको नेप्सेले जनाएको छ। यद्यपि, ती कम्पनीको शेयर कारोबार बन्द रहेको अवस्थामा उनीहरूलाई सम्झाउनुको कुनै विकल्प नभएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउद बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘म सीईओ नियुक्त भएदेखि गरिएको केही प्रगतिमध्ये यो पनि एक भए हो। ती कम्पनीलाई कारोबार आउन फकाउनुबाहेक कुनै कारबाही गर्न सकिएको छैन।’

नेप्सेलाई शूल्क नतिरेका, साधारणसभा, मर्जर, एक्विजिसनबारे जानकारी नगराएका कम्पनीहरूमा नेपाल खाद्य उद्योग, नेपाल वनस्पति घ्यु उद्योग, याक एन्ड यति होटल, नागरिक लगानी कोष, क्रिस्टल फाइनान्स, कर्पोरेट विकास बैंक, युनाइटेट इन्स्योरेन्स, देवः विकास बैंक, साहारा विकास बैंक, काबेली विकास बैंक, माउन्ट मकालू विकास बैंक, वेस्टर्न विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनर्आडीसी विकास बैंक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्