संकट टार्दै संकटा विजयी



नेपाल समाचारपत्र
हेटौंडा
रुस्लान थ्री स्टार क्लबलाई कष्टपूर्णरूपमा स्तब्ध पार्दै सीएमजी संकटा क्लब हेटौंडा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

हेटौंडाको वनविज्ञान क्याम्पसको मैदानमा मंगलबारको खेलमा थ्री स्टारलाई १–० गोलअन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो। नेपालको चर्चित फुटबल क्लब थ्री स्टारको हेटौंडा बसाइ पहिलो खेलबाटै टुंगिँदा संकटाले दोस्रो सेमिफाइनलमा पुलिसलाई प्रतिद्वन्द्वी पाएको छ। संकटाको जितमा निर्णायक गोल झापाका कर्ण लिम्बुले गरेका थिए। थ्री स्टारका हेटौंडेली गोलरक्षक एलन न्यौपाने अघि बढेको मौकाको फाइदा उठाउँदै लिम्बुले गोल गरेका हुन्। उनले ८३औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त रह्यो।

उनी खेलको म्यान अफ दि म्याच घोषित भएर नगद ५ हजार रुपियाँ प्राप्त गरे। खेल अवधिभर थ्री स्टारले दिएको अनेक संकट टार्न संकटा सफल भएको थियो। थ्री स्टारले साढे एक वर्षपछि पुनरागमन गर्दा यी दुई टोलीले एकआपसमा खेलेको यो पहिलो पटक हो। संकटाका प्रशिक्षक सल्यान खड्गीले आफूहरूको रणनीति सफल भएको दाबी गरे– ‘हामीले थ्री स्टारका मिडफिल्डरलाई खुलेर खेल्न नदिने रणनीति बनाएका थियौं। सोहीअनुसार खेलाडीले अन्तिम समयसम्म मेहनत गरे। जसले गर्दा जित्न सफल भयौं।’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफू खेलाडीको खेलबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए। ‘खेलाडीले राम्रो खेल प्रदर्शन गरे। नियमित टोलीका आधा दर्जनभन्दा बढी खेलाडी घाइते अवस्थामा छन्।’ –प्रशिक्षक केसीले खेलमा धेरै मौका प्राप्त भए पनि फिनिसिङ कमजोर हुँदा हार्न बाध्य भएको बताए।

प्रशिक्षक केसीले केही राम्रा मौका गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको बताए। ‘प्रतिद्वन्द्वी प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल मनाङ मस्र्याङ्दी र नेपाल आर्मी क्लबबीच हुने आयोजक सुमन भोम्जन खेलकुद प्रतिष्ठानले जनाएको छ।

सुदूरपश्चिमको असन्तुष्टि
कैलालीको सुदूरपश्चिम टिमका प्रशिक्षक सुरेश हमालले रेफ्रीका कारण आफूहरूले हार्नुपरेको बताएका छन्। ‘हामी जिल्लाको टिम भएकाले हेपिएको हौं,’ उनले दाबी गरे। पत्रकार सम्मेलन गरी प्रशिक्षक हमालले डिबक्स एरियाभित्र भएको ह्यान्ड नदिइएको र टाइब्रेकरमा गोललाइन एरिया क्रस भएको हमालको प्रहारलाई रेफ्री सुदीश पाण्डेले गोल नदिएका कारण हार बेहोर्न बाध्य भएको उनको भनाइ थियो।

प्रशिक्षक हमालले भने– ‘नाम चलेका खेलाडी र क्लबलाई नेपालका रेफ्रीले सपोर्ट गरेको देखियो।’ रेफ्रीको गलत निर्णयकै कारण हेटौंडा गोल्डकपको पहिलो खेलमै बाहिरिनुपरेको उनले दुःखेसो गरे। प्रशिक्षकले हमालले रेफ्रीको यस्तो गल्तीले काठमाडौं बाहिरका टोलीलाई फुटबलमा टिक्न अप्ठ्यारो हुने भन्दै गुनासो गरे। उनले उक्त खेलको भिडियो क्लिप हेर्न र रेफ्रीलाई कारबाही गर्न माग गरे। सोमबार सुदूरपश्चिम आर्मीसँग टाइब्रेकरमा ५–३ अन्तरले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्