नारायणहिटी दरबारभित्र बन्यो गणतन्त्र स्मारक



मधुसूदन रायमाझी
गणतन्त्र स्थापना भएको प्रतीकको रूपमा सरकारले नारायणहिटी दरबार संग्रहायलभित्र गणतन्त्र स्मारक निर्माणको कार्य सम्पन्न गरेको छ। जनआन्दोलनको प्रतीक, राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनको प्रतीकका रूपमा सरकारले गणतन्त्र स्मारक निर्माण गरेको हो।

राजतन्त्रको विधिवतरूपमा अन्त्य भएको स्थानमै गणतन्त्र स्मारक निर्माण भएको छ। गणतन्त्र स्थापना भएको अवसरमा सरकारले गणतन्त्रको झ–झल्को दिने गरी गणतन्त्र ल्याउन योगदान दिने शहीदको नामावलीसहितको स्मारक निर्माण गरेको हो। गणतन्त्र स्मारकको भौतिक पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर मचाकाजी महर्जनले बताउनुभयो। गणतन्त्र स्मारक देशमा गणतन्त्र स्थापना भएको प्रतीकको रूपमा रहनुको साथै आन्तरिक एवं बाह्य पर्यटनको गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य सरकारले लिएको छ। गणतन्त्र स्थापना भएसँगै बनेको पहिलो सरकारले नै गणतन्त्र स्माकरक निर्माण गर्ने घोषणा गरेको थियो। तर, जग्गा प्राप्तिमा देखिएको अलमलको कारण २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण कार्य शुरू भएको थियो।

स्मारक निर्माणका लागि सरकारले बिकोई÷स्काई÷बंगलामुखी जेभीसँग ०६९ मंसिर २२ गते सम्झौता गरेको थियो। सरकार र निर्माण कम्पनीबीच गणतन्त्र स्मारक ०७२ मंसिर २१ मा स्मारक निर्माण सम्पन्न गर्ने सम्झौता एको थियो। तर, विनाशकारी भूकम्प, नाकाबन्दीका कारण स्मारक निर्माण कार्य २ वर्ष ढिला सम्पन्न भएको निर्माणको जिम्मवारी लिएका बंगलामुखी कन्ट्रक्सनका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो। ‘सम्झौताबमोजिम तोकिएको समयसीमाभित्र नै निर्माण सम्पन्न लक्ष्य लिएका थियौं, भूकम्प र नाकाबन्दीका कारण निर्माण सामग्री र कामदारको अभावमा केही ढिला गरी सम्पन्न गरेका छौं।’ उहाँका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएर हाल रंग–रोगन र फिनिसिङको काम सम्पन्न भएकाले यही महिनाभित्र नै सरकारलाई हस्तान्तरण गरिनेछ।

मन्त्रिपरिषद्को बैठकले नारायणहिटी दरबार संग्राहलयको पूर्वी क्षेत्रको ८२ रोपनी क्षेत्रफलमा गणतन्त्र स्मारक निर्माण गर्ने निर्णय गरे पनि नेपाली सेनाले सुरक्षा संवेदनशीताको कारण ३५ रोपनी क्षेत्रफल मात्र जग्गा उपलब्ध गराएको छ।

निर्माण भएको स्मारकमा १२ मिटर उचाइ रहने स्मारकमा अप्पर बेसमेन्ट तथा लोअर बेसमेन्ट गरी दुई ग्यालेरी रहेका छन्। स्मारकमा रहने चारवटा खम्बामा बेपत्ता पारिएका, अंगभंग भएका, मृत्यु भएकाको स्मरण गरिने गरी स्मारक निर्माण गरिएको महर्जनले बताउनुभयो। स्मारकको फ्लोरमा नेपालको नक्सा राखिएको छ। अन्डरग्राउन्डमा सहज ढंगले हावा पास गराउने प्रविधिको पनि प्रयोग भएको छ। चारवटा खम्बाको बीचमा रहेको खाली ठाउँमा नेपालको नक्सा बनाइएको छ भने उक्त नक्सालाई प्रकाशमार्फत उज्यालो पार्ने गर्ने लाइट जडान गरिएको छ। विभागका अनुसार स्मारकको जमिनमुनिको एउटा तलामा बैठक, सभाहल, विशिष्टलगायतका कक्ष र दोस्रो तलामा फोटोसहितको ऐतिहास दस्तावेज ग्यालरी कक्ष रहनेछ। नारायणहिटी राजदरबारभित्र निर्माणधीन बहुप्रतीक्षित गणतन्त्र स्मारक अगामी गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ।

स्मारकमा गणतन्त्र स्थापना गर्नका लागि अहिलेसम्म भएको ऐतिहासिक दस्तावेज समावेश गरिनेछ। स्मारकसँगै आकर्षक बगैंचा पनि निर्माण गरिएको छ। राजधानीको व्यस्त दैनिकीबाट छुट्करा पाउनका लाग उपयुक्त गन्तव्य हुने विश्वास विभागले लिएको छ। अपांगमैत्री रहेको सो स्मारक परिसरमा वाटर फाउन्टेन तथा विशेष बत्तीको समेत व्यवस्था गरिएको छ। स्मारकभित्र हिमाल, पहाड र तराई झल्किने गरी ठूलो नक्सा निर्माण गरिएको छ। मुलुकमा गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको सम्झना गराउने तस्वीर, वस्तु र कलाकृतिहरू राखिनेछन्। नारायणहिटी दरबारले करिब अढाइ सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको प्रतिनिधित्व गर्ने दरबार परिसरमा नै सरकारले गणतन्त्र स्माकर निर्माण गर्ने स्थान रोजेको थियो।

‘गणतन्त्र स्मारक सञ्चालन गर्न कार्यविधि बनाउँदै छौं’

मणिराम गेलाल
उपमहानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभाग

ऐतिहासिक गणतन्त्र स्मारक निर्माणको कार्य सम्पन्न भएको छ। नारायणहिटी दरबार संग्राहलयभित्र निर्माण भएको गणतन्त्र स्मारकको उद्घाटन गणतन्त्र दिवसको दिन अर्थात् जेठ १५ गते उद्घाटन गर्ने तयारीमा छौं। अहिले स्मारकमा प्राण भर्ने काम भइरहेको छ। गणतन्त्र स्मारक सञ्चालनमा आएपछि विदेशका राष्ट्रप्रमुख जाने गन्तव्य पनि हुन सक्छ। निर्माण सम्पन्न गणतन्त्र स्मारक कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाउने काम भइरहेको छ। कार्यविधिअनुसार नै गणतन्त्र स्मारकको सञ्चालन हुनेछ। शहरी विकास मन्त्रालयले गणतन्त्र स्मारक सञ्चालनका लागि सरकारसमक्ष कार्यविधि पेस गर्नेछ। गणतन्त्र स्मारकमा प्रवेश गर्दा शुल्क लिने विषय त्यति सुहाउँदो विषय होइन। तर, पनि स्मारकको व्यवस्थापन गर्नुपर्ने पक्ष पनि रहेको छ। नारायणहिटी दरबार संग्राहलय परिसरभित्र निर्माण भएकाले दरबार संग्रहालय मातहत पनि स्मारक सञ्चालन हुन सक्छ। स्मारकले गणतन्त्र स्थापना भएको ऐतिहासिक पक्षलाई झल्काउनुको साथै आन्तरिक एवं बाह्य पयर्टकको पनि आकर्षक गन्तव्यको रूपमा विकास गर्न सकिन्छ। अहिले भौतिक पूर्वाधार निर्माणको काम मात्र सम्पन्न भएको छ। अब स्मारकभित्र कहाँ–कहाँ के–के राख्ने भन्ने विषयको प्लानिङ हुन्छ।

प्रतिक्रिया दिनुहोस्