नेताको वार्तामा रमाउने जनता



पुष्करलाल श्रेष्ठ

नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता गरी दुई नेतामाझ पद बाँडफाँडका लागि गरिएको अन्तिम वार्ता सोमबार मध्यराति सकिएको छ। प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा कांग्रेस र कम्युनिस्ट पार्टी मिलेर आन्दोलन गर्नुपर्ने धारणासहित नेपाली कांग्रेसका तत्कालीन सर्वमान्य नेता गणेशमान सिंह र कम्युनिस्ट नेता पद्मरत्न तुलाधरसहित थालिएको वार्ताको क्रम गणतन्त्र आइपुग्दासम्म पनि टुंगिएको छैन।

प्रजातन्त्रको पुनःस्थापनाका लागि त्यस बेला नेपाली कांग्रेस काठमाडौं जिल्लाका कोषाध्यक्ष तथा पूर्वसांसद श्रीराम श्रेष्ठको बागबजारको घरमा गरिएको पहिलो तथा दोस्रो बैठकमा संयोगले यस स्तम्भकारको पनि उपस्थिति थियो। त्यस बेलाको बलियो पञ्चायती व्यवस्थाविरुद्ध लड्नका लागि कांग्रेस र कम्युनिस्ट पार्टी एकढिक्का भएर आन्दोलनमा उत्रिन सके मात्र नेपाली जनताको साथ पाई आन्दोलन सफल हुन सक्ने नेता गणेशमान सिंहलाई बलियो तर्क राख्नेमध्येको वार्ता टोलीको एक जना सदस्य थियो यस स्तम्भकार पनि।

नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहसहित त्यो पहिलो ऐतिहासिक वार्तामा सहभागी कम्युनिस्ट नेता पद्मरत्न तुलाधार, कांग्रेस नेता श्रीराम श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वकुलपति सूर्यबहादुर शाक्य, कांग्रेस नेता नवीन चित्रकार र यस स्तम्भकारको नाम त्यस बेला प्रकाशित नेपाली कांग्रेसको मुखपत्र मानिने गणेशमान सिंह निकट नेपाल जागरणसहित थुप्रै प्रमुख अखबारमा छापिएको थियो। केही समयअघि स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौंका लागि मेयर पदका दाबेदार मानिएका नेता नवीन चित्रकारले विसं २०७३ चैत १४ गते सोमबार प्रकाशित भएको तरुण साप्ताहिकलाई दिएको उहाँको अन्तरवार्तामा पनि त्यो बेलाको वार्ता र यस स्तम्भकारको नाम स्मरण गरिएको कुरा पछि थाहा पाएँ।

लेखमा यो पुरानो कुरा स्मरण गर्नुको उद्देश्य स्तम्भकारलाई ठूलो देखाउन नभई वार्ताको पृष्ठभूमि र महत्त्व दर्साउनका लागि मात्र गरिएको भनी बुझिदिनुहुन पाठकहरूमा विनम्र अनुरोध गर्दछु। त्यस बेला गरिने प्रायः राजनीतिक वार्ता व्यक्तिगत स्वार्थका लागि भन्दा राष्ट्रिय महत्त्वका विषयमा केन्द्रित हुन्थ्यो भने अहिले हुने गरेका राजनीतिक वार्ता प्रायः व्यक्तिगत स्वार्थमा केन्द्रित हुने गरेका छन्। त्यस बेलाको वार्ता देशमा प्रजातन्त्रको पुनःस्थापना गराई जनतालाई सार्वभौमिक बनाउने जस्ता गहन विषयमा हुन्थे भने अहिलेका वार्ता कुन नेतालाई प्रधानमन्त्री बनाउने, कुन नेतालाई पार्टीको अध्यक्ष बनाउने, कसलाई मुख्यमन्त्री बनाउने, कसलाई मन्त्री बनाउने जस्ता व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने गरेका देखिन्छन्।

देशको प्रधानमन्त्रीबाहेक यस्ता वार्ताबाट खोई त जनताले अहिलेसम्म के पाए ? वार्ताअघि नै केपी ओली प्रधानमन्त्री भइसकेकाले सोमबारको वार्ता पनि त फेरि उही पुष्पकमल दाहाल प्रधानमन्त्री हुने कि नहुने भन्नेबाहेक अरू देश र जनताको हितमा हुने के कुरा थियो र त्यो वार्तामा हामी रमाउने ?

विडम्बना नै भन्नुपर्छ, हामीकहाँ पार्टी र नेताहरू व्यक्तिगत स्वार्थका लागि आफैं मिल्छन्, फेरि आफैं झगडा गर्छन्। मिले पनि जनताकै लागि भन्छन्, झगडा गरे पनि जनताकै लागि भन्छन्। झगडा मिलाउने बहानामा आफ्नो व्यक्तिगत स्वार्थका लागि फेरि वार्ताको नाटक गर्छन्। पार्टी र नेताहरूको यस्तो नाटकीय वार्तालाई राज्य व्यवस्था नै परिवर्तन हुन लागेको जस्तो गरी महत्त्व दिँदै नेपाली प्रेस ‘दुई नेताबीच आज वान टु वान वार्ता’ भन्दै समाचार सम्प्रेषण गर्छन्। हो न हो दुई देशका राष्ट्राध्यक्षको कूटनीतिक वार्ता हुन लागेको जस्तो ‘वान टु वान’ बैठकपछि आएका कुराहरू भन्दै लगातार अनुत्पादक समाचार सम्प्रेषण गरी जनता भुलाइरहन्छन्।

यता जनता पनि जतिपटक नेताहरूले झुक्याए पनि चेतेका देखिँदैनन्। उल्टो तिनै नेताको विश्वासमै आफ््नो सुनौलो भविष्य देख्छन् नेपाली जनता। व्यक्तिगत स्वार्थका लागि गरिएका वार्ताको परिणाम सुन्न बिहान आँखा खुल्नेबित्तिकै टेलिभिजनको रिमोट खोज्छन्। मोबाइल खोलेर अनलाइनमा आएका समाचारहरू हेर्न हतारिन्छन्। इन्टरनेट नभएकाहरू बजारमा अखबार किन्न दौडिन्छन्, रेडियोमा समाचार सुन्न पर्खिन्छन्।
प्रजातन्त्रको पुनःस्थापनापछि जबज भन्दै अनेकौं राजनीतिक वाद, सिद्धान्त र व्यवस्थाको नाममा हजारौं नेपालीको ज्यान गइसकेको छ। खर्बौंको भौतिक सम्पत्ति नष्ट भइसकेको छ। सरकारले पछिल्लो समयमा घोषणा गरेका शहीदहरूलाई समेत गणना गर्ने हो भने शहीदका संख्या नै हजारौं पुगिसकेका होलान्। यसबीचमा यो वा त्यो विषय र बहानामा नेताहरूले हजारौं वार्ता गरिसकेका छन्। शान्ति र धार्मिक सहिष्णुताका लागि संसार प्रसिद्ध देश नेपाललाई छियाछिया हुने गरी सात टुक्रा पारेर गिरिजाप्रसाद कोइरालालाई पाँचपटक, शेरबहादुर देउवालाई चारपटक, पुष्पकमल दाहाललाई दुईपटक, केपी ओलीलाई दुईपटक देशको प्रधानमन्त्रीबाहेक यस्ता वार्ताबाट खोई त जनताले अहिलेसम्म के पाए ? वार्ताअघि नै केपी ओली प्रधानमन्त्री भइसकेकाले सोमबारको वार्ता पनि त फेरि उही पुष्पकमल दाहाल प्रधानमन्त्री हुने कि नहुने भन्नेबाहेक अरू देश र जनताको हितमा हुने के कुरा थियो र त्यो वार्तामा हामी रमाउने ?

तैपनि दुई पार्टी मिलेर बन्ने सरकारले जनताको स्वास्थ्य र शिक्षामा निःशुल्क सेवा दिने घोषणा गर्छन्् कि, १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गर्न लागेका हुन् कि, सबै नेपाली जनतालाई रोजगारी दिने जिम्मा सरकारले लिन लागेको हो कि जस्तो गरी हामी त्यो वार्ताको पछाडि लागेका लाग्यै छौं। यस्ता विषयवस्तुमा बाहेक वार्ता गर्ने होइन भनी नेतालाई चेतावनी दिने सोच खोई कहिले आउने हो हामी जनतामा ?

प्रतिक्रिया दिनुहोस्