करण केसीलाई बागलुङमा ५० हजार रुपैँया सहित सम्मान



सिर्जना पन्त, बागलुङ ।
आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भुमिका खेलेका बागलुङका करण केसीलाई सम्मान गरिएको छ । बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका केसीले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेलमा नेपाललाई प्रवेश गराउन महत्वपुर्ण भुमिका खेलेका थिए । खेल क्षेत्रमा केसीले पु¥याएको योगदानको कदर गर्दै बागलुङ नगरपालिकाको कार्यालयले नगद ५० हजार रुपैँया सहित सम्मान पत्र प्रदान गरेको हो ।

प्रतिनिधिसभाका सांसद डा.सुर्य पाठक, नगरपालिकाका मेयर जनकराज पौडेल, उपमेयर सुरेन्द्र खड्काले केसीलाई पचास हजार रुपैँयाको चेक हस्तान्तरण गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै केसीले आफु देशको लागि सधै इमान्दारीता, कडा मिहिनेत र लगनशीलताका साथ खेल्ने बताए । उनले निडर भएर खेल्दै जाँदा अन्तिममा जित भएको भन्दै आगामी दिनमा पनि क्रिकेट खेलको विकासमा राज्यले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिभावान खेलाडीहरु हुँदा हुदैँ पनि प्रोत्सानको कमीले गर्दा खेल क्षेत्रमा पछि परेको उनको भनाई छ । खेलमा नेपालले खराव सुरुवात गरेपनि अन्तिममा बिजय भएसंगै अहिले सर्वत्र प्रशंसा भइरहेकोमा खुशी समेत व्यक्त गरेका छन् । केसीले सबै समर्थकहरुलाई धन्यवाद दिदैँ क्रिकेटलाई सदैव माया र सद्भाव प्रकट गर्न आग्रह समेत गरे ।

सोही अवसरमा बागलुङ नगरपालिका–८, जिल्ला खेलकुद बिकास समिति बागलुङले पनि संयुक्त रूपमा सम्मान गरेका थिए । कार्यक्रममा मेयर जनक पौडेलले क्रिकेट खेल मार्फत देशलाई बिश्व कपमा प्रबेश गराउन सफल भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले गरेका थिए । खेलाडी केसीको सम्मान स्वरुप बागलुङ सदरमुकाममा बाजागाजा सहित नगर परिक्रमा पनि गरिएको थियो ।

तेस्तै केसीलाई क्षेत्री समाज बागलुङले पनि सम्मान गरेको छ । समाजका अध्यक्ष बाबुराज कार्कीले केसीलाई नगद १० हजार रुपैया सहित सम्मान पत्रले सम्मान गरेका हुन । कार्कीले समाजको तर्फबाट केसीको मनोवल उच्च बनाउँनको लागि र आगामी दिनमा पनि राम्रो खेल्नको लागि सम्मानले मनोवल बढाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्