वैदेशिक रोजगारी ओरालो लाग्न थाल्यो



रोविन पौडेल, काठमाडौं

वैदेशिक रोजगारीको विश्वव्यापी ट्रेन्ड खस्किरहेको अवस्थामा पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य कमी आएको छ नेपाली कामदारको प्रमुख गन्तव्यको रूपमा रहेका खाडी मुलुकमा रोजगारी सिर्जना कम भइरहँदा सरकारी तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालको संख्या कम भएको देखाएको हो।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ७ महिनामा गत वर्षका तुलनामा १५ हजारभन्दा कम कामदार रोजगारीको सिलसिलामा विदेश गएका छन्।

यसअवधिमा संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट श्रम स्वीकृति लिइ विदेशिनेको संख्या घटेको विभागले जनाएको छ। विभागका अनुसार चालू आवको पहिलो ७ महिनामा रोजगारीका लागि विदेशिने नेपालीको १ लाख ९७ हजार १ सय ९६ रहेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो संख्या २ लाख ११ हजारभन्दा बढी रहेको थियो।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या पनि निरन्तर घटेको देखाएको छ। चालू आवको पुसमा २२ हजार ४ सय ४९ जनाले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएकोमा माघमा त्यो घटेर २१ हजार ४ सय ८० पुगेको हो। कात्तिक महिनामा सो संख्या ३१ हजारभन्दा बढी रहेकोमा मंसिरमा २४ हजार रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्नाले साउदी अरब तथा खाडी मुलुकको अर्थतन्त्र गोलमाल भएकाले त्यसको असर नेपाली श्रमिकमा परेको रोजगार विज्ञ डा. गणेशमान गुरुङ बताउनुहुन्छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै डा. गुरुङले भन्नुभयो– ‘ती मुलुकमा यही कारण रोजगारदाता कम्पनीहरू बन्द हुने अवस्थामा छन्। गन्तव्यमै रोजगारी सिर्जना बन्द भएको अवस्थामा तथ्यांकले रोजगारीका लागि विदेशिनेको संख्या घटेको देखाएको हो।’

त्यसैगरी पछिल्लो समय पुनर्निर्माण तथा विकास निर्माण कार्य तीव्र हुँदा स्वदेशमै रोजगारीको अवसर सिर्जना भएको उहाँको दाबी छ। उहाँले भन्नुभयो– ‘विश्वव्यापी रूपमै वैदेशिक रोजगारीको ट्रेन्डले खराब गति लिएको अवस्थामा नेपालमा पनि प्रभाव परेको देखिनुलाई स्वभाविन रूपमा लिन सकिन्छ।’

वैदेशिक रोजगारीको क्रमले उल्टो गति लिनुको कारण रेमिट्यान्समा पनि प्रभाव परेको उहाँ बताउनुहुन्छ। यद्यपि, रेमिट्यान्स घट्नुको सबैभन्दा ठूलो कारण हुण्डीको उच्च प्रयोग रहेको उहाँको बुझाइ छ।

विदेशमा कामदारले पाउने तलबले कामदार वैदेशिक रोजगारीमा आकर्षित नभएको वैदशिक रोजगार विभागले बताउँदै आउको छ। बढेको महँंगी तथा बचत अपेक्षित रूपमा नबढ्दा विदेश जान आकर्षण घटेको विभागको दाबी छ।

उता वैदेशिक रोजगार व्यवसायी भने सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरेदेखि नेपाली कामदार रोजगारदाता कम्पनीको रोजाइमा नपर्ने गरेको बताउँछन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङका अनुसार बंगलादेशलागयत देशबाट पैसा तिरेरै कामदार रोजगारदातासम्म पुग्छन्। रोजगारदाता कम्पनीले अन्य देशका कामदार सित्तैमा पाउने हुनाले नेपाली कामदार प्राथमिकतामा नपरेको उहाँ बताउनुहुन्छ।

यसैबीच वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको माघमा संस्थागत रूपमा श्रम अन्तिम स्वीकृति लिई २८ हजार ४ सय १५ जना वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन्। अघिल्लो महिनामा यो संख्या २७ हजार ९ सय २७ रहेको थियो। चालू आवको सात महिनासम्ममा रोजगारीको क्रममा विदेशिनेमध्ये १ लाख ८५ हजार १ सय ३६ जना पुरुष रहेका छन् भने ११ हजार ४ सय ६९ जना महिला छन्। यसअवधिमा विदेशिने महिलाको संख्या गतवर्षको सोही अवधिको तुलनामा २ हजारले बढी हो। माघमा विदेशिने महिला कामदारको संख्या १ हजार ६ सय १२ रहेको छ जुन पुसको तुलनामा १ सय ४८ जनाले कम हो।

मलेसियालाई कतारले उछिन्यो

काठमाडौं, (नेस)
माघमा वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये सबैभन्दा बढी कतार गएका छन्। यो महिना मलेसिया जाने नेपालको संख्यामा कमी आएका कारण कतार जानेको संख्या बढेको देखिएको हो।

गत महिनामा सबैभन्दा धेरै ९ हजार ६ सय ७७ जना नेपाली कामदार कतार गएका छन्। अघिल्लो महिना अगाडी रहेको मलेसिया यस महिना भने दोस्रो स्थानमा झरेको छ। यस महिना मलेसिया जाने नेपाली कामदारको संख्या ८ हजार ६ सय ९८ रहेको छ। अघिल्लो महिना यो संख्या १२ हजार रहेको थियो।

गत महिना नेपाली कामदारको प्रमुख गन्तव्यमा यूएई तेस्रो स्थानमा उक्लिएको छ। साउदी अरेबियामा उछिन्दै यूएई तेस्रो स्थानमा रहेको हो। माघमा ४ हजार ४ सय ७८ जना रोजगारीका लागि यूएई रहेकोमा साउदी अरेबिया जाने नेपाली कामदारको संख्या ३ हजार १ सय ६० रहेको थियो।

प्रतिक्रिया दिनुहोस्