पेट्रोलियम अन्वेषण गर्न अर्को महिना चिनियाँ टोली आउँदै



दीपेन्द्र थापा, काठमाडौं

पेट्रोलियम अन्वेषण तथा उत्खनन् परियोजनाको विस्तृत अध्ययन गर्नको लागि आगामी मार्च महिनामा चिनियाँ टोली नेपाल आउने भएको छ। जियोलोजीकल अफ चाइनाको टोली नेपाल आउन लागेको हो।
टोलीले नेपालमा रहँदा चिनीयाँ टोलीले विस्तृत अध्ययन गरी कति कुन परिमाणमा, कति तल पेट्रोलियमको अवस्थिति छ भन्ने बारेमा पूर्ण अध्ययन गर्न चिनियाँ टोली आउने पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेले नेपाल समाचारपत्रलाई बताउनुभयो।

केही महिनाअघि चिनियाँ टोली नेपाल आएर प्रारम्भिक अध्ययन गरेर फर्किएको थियो भने डेढ वर्ष पहिले चीन र नेपालबीच अन्वेषण सम्झौता भएको थियो।

पेट्रोलियम पदार्थ छ भन्नेमा कुनै दुई मत छैन। तर, कहाँ, कति, कुन तहमा रहेको छ भन्ने बारेमा भने अन्वेषणपछि नै थाहा हुने परियोजना प्रमुख रजौरेले बताउनुभयो। चिनियाँ टोलीले चुरे र तराईको क्षेत्रमा पेट्रोलियम अन्वेषण प्रक्रिया अगाडि बढाउनेछ। देशभरका १० वटा पेट्रोलियम अन्वेषण ब्लक रहेको अध्ययनले देखाएको छ। अन्वेषणको लागि धनगढी, कर्णाली, नेपालगन्ज, लुम्बिनी, चितवन, वीरगन्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगर ब्लक नामाकरण गरिएको छ।

कति बल्कमा चिनियाँ टोलीले काम गर्छ त्यसपछि मात्र बँँकी रहेको ब्लकका लागि हामी ग्लोबल टेन्डरको प्रक्रिया खुला गरेर काम गर्ने योजन रहेको परियोजना प्रमुख रजौरेले जानकारी दिनुभयो।

ग्लोबल टेन्डरका लागि पेट्रोलियम नियमावली पाँचौ संशोधन मन्त्रिपरिषद्बाट पारित भइसकेको छ। तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्भावित खानीको अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाउनु भएको थियो।

एउटा ब्लकको अन्वेषणको लागि करिब ४ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ। रजौरेका अनुसार पेट्रोलियम नियमावलीले नेपाल सरकारलाई १२ दशमलव ५ प्रतिशत रोयल्टी ग्यारेन्टी गरेको छ। सबैभन्दा धेरै प्रतिशत आम्दानीको हिस्सा दिने अन्तर्राष्ट्रिय कम्पनीलाई सरकारले अन्वेषण र उत्खनन्को जिम्मेवारी दिने व्यवस्था रहेको छ।

उहाँका अनुसार सम्भावित पेट्रोलियमको अन्वेषण र उत्खनन्मा सरकारलाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन। ‘हामीले शून्य लगानीमा अधिकतम् प्रतिफल दिने कम्पनीलाई ठेक्का दिने हो, पेट्रोलियम पदार्थ फेला पर्यो भने आम्दानी बाँडफाँड हुन्छ नत्र कम्पनी खाली हात फर्किन्छ।’ रजौरेले बताउनुभयो।

गत वर्ष चीन सरकारको स्वामित्वमा रहेको चाइना जिओलोजिकल सर्वेको प्राविधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा ा पेट्रोलियम खानीको प्रारम्भिक अध्ययन गरेको थियो। उनीहरूले नेपालमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक प्रतिवेदन तयार पारेको जानकारी नेपाल सरकारलाई पठाएका थियो। तर, हालसम्म पनि औपचारिक प्रतिवेदन भने अझै पठाएको छैन।

अन्वेषणमा आएका कम्पनीले बलियो आधार देखेर मात्र लगानी गर्छ। त्यसका लागि परियोजानले सबैखाले वातावरण र त्यस्ता आधार तयार पारिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्