रेलमार्ग सर्वे गरिएको भन्दै स्थानीयद्वारा विरोध



बुटवल, (नेस)
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको यसअघि नै सर्वे भई विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकै स्थानबाट अगाडि बढाइनुपर्ने तिलोत्तमा नगरपालिकाले जनाएको छ। रेलमार्गका लागि वैकल्पिक स्थानबाट सर्वे गर्न थालिएको भन्दै नगरपालिकाले आफ्नो धारणालाई प्रष्टाएको हो।

रेलवे विभागले बुटवलको कालिकानगर क्षेत्रबाट तम्सरिया–बुटवल खण्ड तथा बुटवल–भैरहवा–लुम्बिनी लिंकका लागि यसअघि नै सर्वे गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले रेलमार्ग पहिले नै सर्वे भएको स्थानबाट अघि बढाइनुपर्ने बताउँदै ठाउँ सार्ने विषयमा नगरपालिका सहमत नरहने बताउनुभयो।

‘रेलमार्गको ठाउँ सार्ने विषयमा तिलोत्तमा नगरपालिका सहमत हुनै सक्दैन ’ उहाँले भन्नुभयो–‘ठाउँ सार्दै जाने हो भने रेलमार्ग सम्भव पनि छैन।’
नगरपालिकाले रेलमार्गलाई वडा नं. १ र ४ बाट लैजाने भन्दै गरिएको ‘सर्वे’ प्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्य बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। सोही विषयलाई लिएर नगरपालिकाले रेल विभागलाई पत्र पठाइसकेको छ। रेल विभागले तिलोत्तमाको वडा नं. १ र ४ मा सर्वे नभई ‘अध्ययन’ मात्र गरिएको जनाएको छ।

नगर प्रमुख घिमिरेले रेलको सर्वे नयाँबाट गर्न थालिएको भन्ने विषयमा सम्बन्धित क्षेत्रका सांसदको ध्यानाकर्षण गराउँदा उहाँहरूले समेत यसअघि नै सर्वे भएको स्थानबाट रेलमार्ग अघि बढ्ने कुरामा आफूहरू अडिग रहेको बताउनुभयो। ‘नयाँ ठाउँबाट रेलको सर्वे भएको भन्ने विषयमा मैले यस क्षेत्रका सांसदहरूसँग समेत कुराकानी गरिसकेको छु। उहाँहरूले यसअघि नै सर्वे भएको ठाउँबाटै रेलमार्ग जाने कुरामा आफूहरू अडिग रहेको कुरा बताउनुभएको छ।’ नगर प्रमुख घिमिरेले भन्नुभयो।

नगरपालिकाले स्थानीय सरकारसँग समन्वय र जानकारीबिना रेलमार्गका लागि अध्ययन गरिएकाले यो सफल नहुने भन्दै त्रसित नहुन स्थानीय बासिन्दालाई आग्रह गरेको छ।‘म स्थानीय बासिन्दालाई ढुक्क रहन र आ–आफ्नो काममा केन्द्रित हुन अनुरोध गर्दछु। स्थानीय बासिन्दाको भावनाविरुद्ध कुनै काम हुँदैन।’ उहाँले प्रष्टाउनुभयो।

रेल विभागले समेत तिलोत्तमाको वडा नं. १ र ४ मा रेलमार्गको सर्वे नगरिएको जनाएको छ। तिलोत्तमा वडा नं. १ र ४ का बासिन्दा रेलमार्ग सार्न नदिने भन्दै बिहीबार नगरपालिकामा डेलिगेसन गएका थिए। उनीहरूले आफूहरू विकासविरोधी नभएको तर पहिले सर्वे भएकै स्थानबाट रेलमार्ग निर्माण गरिनुपर्ने बताएका छन्। विद्युतीय रेलमार्गको डीपीआरमा बुटवलको कालिकानगर भएर रेल लैजाने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्